रिलिजअघि नै ‘बेहुली’को विदेशी प्रदर्शन अधिकार बिक्री

काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘बेहुली’को प्रमुख विदेशी बजारका प्रदर्शन अधिकार रिलिजअघि नै बिक्री भएका छन्।

निर्माण पक्षका अनुसार अस्ट्रेलिया, उत्तर अमेरिका, मध्यपूर्व र बेलायतका लागि फिल्मको वितरण अधिकार बिक्री भइसकेको छ।

अस्ट्रेलियाको प्रदर्शन अधिकार आशिष एन्ड नमस्ते इन्टरटेन्मेन्टले खरिद गरेको छ। त्यहाँ पनि फिल्म भदौ २६ गते नै प्रदर्शन हुनेछ।

अमेरिका र क्यानडासहित उत्तर अमेरिकाको वितरण अधिकार चलचित्र इन्टरटेन्मेन्ट मुभी डिस्ट्रिब्युसनले लिएको छ। दुबई, कतार र बहराइनलगायत मध्यपूर्वका देशमा साथीभाइ इन्टरटेन्मेन्टले फिल्म प्रदर्शन गर्नेछ। यी बजारमा पनि फिल्म भदौ २६ गते नै प्रदर्शन हुनेछ।

बेलायतको प्रदर्शन अधिकार ९७७ इभेन्ट्सले खरिद गरेको छ। त्यहाँ भने फिल्म असोज १६ गतेदेखि प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।

हालसम्म फिल्मको फर्स्ट लुक पोस्टर र ‘दिलमा ठाउँ छ’ बोलको गीत सार्वजनिक भइसकेको छ। निर्माण पक्षका अनुसार उक्त गीतले युट्युबमा करिब ३० लाख भ्युज र टिकटकमा करिब ६ लाख भिडियो प्राप्त गरेको छ। फिल्मका अन्य गीत र ट्रेलर भने सार्वजनिक हुन बाँकी छन्।

सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको फिल्ममा पारस बम ठकुरी (कुल ब्वाइ), दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरको अभिनय छ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनेको फिल्मका प्रस्तुतकर्ता अर्जुन पोखरेल हुन्। प्रताप शमशेर राणा निर्माता रहेको फिल्ममा शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता, दुर्गा खरेल र शिशिर श्रेष्ठ सह-निर्माता तथा कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर छन्।

Leave a Reply