‘सिन्दुरे जात्रा’ फिल्मको छायांकन सम्पन्न

काठमाडौं । फिल्म ‘सिन्दुरे जात्रा’को छायांकन सम्पन्न भएको छ। दुई चरणमा गरिएको छायांकन मंगलबार सकिएको हो।

गत जेठ १ गते पर्वतको कुस्मा नगरपालिका–स्थित आर्थर डाँडाखर्कबाट सुरु भएको छायांकन मुख्य अभिनेता विजय बराल घाइते भएपछि केही समय स्थगित गरिएको थियो। दाहिने हातको नाडीमा चोट लागेका विजय पूर्ण रूपमा निको भएपछि दोस्रो चरणको छायांकन पुनः सुरु गरी सम्पन्न गरिएको हो।

निर्देशक सरोज पौडेलका अनुसार फिल्मको छायांकन ४० दिनमा सम्पन्न भएको हो। उनले कलाकार तथा प्राविधिकको मेहनतप्रति धन्यवाद व्यक्त गर्दै मंसिर ४ गते दर्शकले राम्रो फिल्म हेर्न पाउने विश्वास व्यक्त गरेका छन्।

‘सिन्दुरे जात्रा’मार्फत निर्देशक सरोज पौडेल र कलाकारद्वय विजय बराल तथा अञ्जना बराइलीले ‘पूर्णबहादुरको सारङ्गी’पछि दोस्रो पटक सहकार्य गरेका छन्। विजयले हातको चोटका बाबजुद छायांकन पूरा गरेको बताउँदै फिल्मको विषयवस्तु र आफ्नो पात्रप्रति उत्साहित रहेको प्रतिक्रिया दिएका छन्।

सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्ममा विजय र अञ्जनासँगै विनोद न्यौपाने, रामप्रसाद खनाल, कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा, उषा खड्गी, हिउँवाला गौतम, राकेश खड्का र रजनी गुरुङलगायतका कलाकारको अभिनय रहेको छ।

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन तथा सरोज पौडेलको कथामा बनेको फिल्मका कार्यकारी निर्माता दिनेश खड्का हुन्। पदमबहादुर श्रेष्ठ (बाबु) डीओपी रहेको फिल्ममा नहकुल खड्काको सम्पादन तथा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहेको छ।

रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले वितरण गर्ने ‘सिन्दुरे जात्रा’ आगामी मंसिर ४ गते प्रदर्शनमा आउनेछ।

Leave a Reply