काठमाडौं । द्रव्य प्रोडक्सनको ब्यानरमा हास्यप्रधान चलचित्र ‘फलानो ढिस्कानो’ निर्माण हुने भएको छ। निर्माण पक्षले मंगलबार दुईवटा आधिकारिक पोस्टर सार्वजनिक गर्दै चलचित्रको घोषणा गरेको हो।
सार्वजनिक पोस्टरमध्ये एकमा कथावाचकका रूपमा परिचित साइग्रेस पोखरेल मोटरसाइकलको पछाडि बसेर कतै गइरहेको देखिन्छन्। पोस्टरमा उनको हँसिलो अभिव्यक्ति र प्रस्तुतिले चलचित्रको हास्य शैली झल्काउँछ। उनले लगाएको कोटको गोजीमा चलचित्र पत्रकारको परिचयपत्र (प्रेस कार्ड) राखिएको देखिन्छ।
अर्को पोस्टरमा भने साइग्रेस चलचित्र पत्रकारको प्रेस कार्डसहित प्रस्तुत भएका छन्। पोस्टरमा उनलाई पठाओ बुक गरिरहेको दृश्यमा देखाइएको छ, जसबाट उनी चलचित्रमा पत्रकारको भूमिकामा रहेको संकेत मिल्छ।
जय नेपाल हलमा आयोजित घोषणा कार्यक्रममा साइग्रेसले आफूलाई चलचित्रको कथाले आकर्षित गरेको बताए।
“मैले ‘आ’बाट ‘आमा’ खेल्छु, त्यसपछि चलचित्र खेल्दिनँ भन्ने सोचेको थिएँ। तर अभिनय त नशाजस्तै रहेछ। ‘फलानो ढिस्कानो’को कथा मन परेकाले यसमा काम गर्न सहमत भएको हुँ,” उनले भने।
चलचित्रमा साइग्रेसबाहेक अन्य कलाकारको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन। निर्माण टोलीले बाँकी कलाकार तथा प्राविधिकबारे क्रमशः जानकारी गराइने जनाएको छ।
चलचित्रको निर्देशन राजकुमार ले गर्नेछन्। उनका अनुसार चलचित्रको छायांकन दसैंपछि सुरु हुनेछ।
News Filmy Newsportal / Nepal