चार भाषामा बन्ने ‘बम्पर चिट्ठा’ घोषणा, अमेजन प्राइम भिडियोमार्फत विश्वभर प्रदर्शन हुने

काठमाडौं । नेपाली मौलिक कथा, संस्कृति र समकालीन मनोरञ्जनलाई केन्द्रमा राखेर फिल्म ‘बम्पर चिट्ठा’ निर्माण हुने भएको छ। स्याडो पिक्चर्सको ब्यानरमा बन्न लागेको फिल्मको औपचारिक घोषणा गर्दै निर्माण टिमले यसको थिम पोस्टर पनि सार्वजनिक गरेको छ।

फिल्मको निर्देशन विक्की महर्जनले गर्नेछन्। निर्माता अमित अग्रहरि र निशा गुइदे रहेका छन्। विश्वस्तरीय निर्माण शैलीमा फिल्म तयार गर्ने लक्ष्य रहेको निर्माण टिमले जनाएको छ।

सार्वजनिक गरिएको थिम पोस्टरले नेपालको सांस्कृतिक सम्पदा र रहस्यमय वातावरणको झल्को दिन्छ। प्राचीन मन्दिरको शिखरबाट तलको चहलपहल नियालिरहेको दृश्य समेटिएको पोस्टरले कथाप्रति उत्सुकता जगाउने प्रयास गरेको छ। कथावस्तुबारे धेरै खुलाइएको छैन। तर नेपाली समाज, संस्कृति र मानवीय सम्बन्धलाई रोचक शैलीमा प्रस्तुत गरिने संकेत पोस्टरले गरेको छ।

निर्माण टिमका अनुसार ‘बम्पर चिट्ठा’ नेपाली, हिन्दी, तेलुगु र फ्रेन्च गरी चार भाषामा निर्माण हुनेछ। फिल्मलाई विश्वव्यापी रूपमा अमेजन प्राइम भिडियो मार्फत प्रदर्शन गर्ने योजना रहेको जनाइएको छ। यसमार्फत २४० भन्दा बढी देशका दर्शकमाझ फिल्म पुग्ने निर्माण पक्षको विश्वास छ।

निर्माता अमित अग्रहरिले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा थप मजबुत रूपमा स्थापित गर्ने उद्देश्यका साथ यो परियोजना अघि बढाइएको बताए। कलाकार तथा प्राविधिक टोलीबारे विस्तृत जानकारी भने चाँडै सार्वजनिक गरिने उनले जानकारी दिए।

यसअघि यही निर्माण टिमले निर्माण गरेको फिल्म ‘आउट ल’ सेप्टेम्बरमा अमेजन प्राइम भिडियोमार्फत विश्वव्यापी रूपमा प्रदर्शनको तयारीमा छ। सो फिल्मको ओटीटी प्रदर्शनपछि ‘बम्पर चिट्ठा’ को निर्माण प्रक्रिया सुरु गरिने निर्माण टिमले जनाएको छ।

Leave a Reply