काठमाडौं । नेपाली पार्श्वगायक तथा संगीतकार युवराज चौलागाईं अमेरिकाको न्युजर्सीस्थित जर्सी सिटी काउन्सिलबाट सम्मानित भएका छन्।
नेपाली संगीत, संस्कृति र प्रवासी नेपाली समुदायमा पुर्याएको योगदानको कदर गर्दै जर्सी सिटी काउन्सिलले उनलाई सम्मान गरेको हो। सम्मानपत्र मंगलबार जर्सी सिटी हलमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको थियो।
जर्सी सिटीका मेयरद्वारा नियुक्त विविधता तथा समावेशीकरण सल्लाहकार एवं न्युजर्सीका गभर्नरको एशियन अमेरिकन प्यासिफिक आइल्यान्डर कमिसनकी कमिस्नर डा. विष्णुमाया परियारले चौलागाईंलाई सम्मानपत्र हस्तान्तरण गरिन्।
काउन्सिलम्यान–एट–लार्ज रोलान्डो लभारोले हस्ताक्षर गरेको सम्मानपत्रमा चौलागाईंले दुई दशकभन्दा लामो समयदेखि नेपाली संगीत क्षेत्रमा पुर्याएको योगदानको उल्लेख गरिएको छ। चलचित्र र आधुनिक संगीतमा उनले ४०० भन्दा बढी गीतमा स्वर दिएको पनि सम्मानपत्रमा उल्लेख छ।
उक्त सम्मान न्युयोर्कबाट प्रकाशित हुने सञ्चारमाध्यम ‘नेपयोर्क’ को चौथो वार्षिकोत्सवको अवसरमा प्रदान गरिएको हो।
दुई दशकदेखि नेपाली सुगम संगीत र चलचित्र पार्श्वगायनमा सक्रिय चौलागाईंले ‘पल भरमै खुसी’, ‘हारे हारे’, ‘तिमी साथमा हुँदानी’, ‘यो मन रमाउँदै’, ‘तिम्रा डोला–डोला हातमा’ लगायतका गीतमा स्वर दिएका छन्। उनले विभिन्न राष्ट्रिय तथा सांगीतिक पुरस्कारसमेत प्राप्त गरेका छन्।
News Filmy Newsportal / Nepal