काठमाडौं । बलिउड फिल्म ‘बेबी डु डाइ डु’ आगामी असार १९ गते (जुलाई ३) देखि नेपालभर प्रदर्शनमा आउने भएको छ।
फिल्मका कलाकार हुमा कुरेशी र चंकी पाण्डेले प्रचारप्रसारका क्रममा सार्वजनिक गरेको भिडियोमार्फत फिल्म नेपालमा पनि एकसाथ प्रदर्शन हुन लागेको तथा टिकट बुकिङ खुलिसकेको जानकारी दिएका हुन्।
साकिब सलीम निर्मित यस फिल्मलाई नेपालमा सिंहदेवी प्रोडक्सनले वितरण गर्दैछ। केही सिनेमा हलमा अग्रिम टिकट बुकिङ खुलिसकेको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले राइजिङ मल, छाया सेन्टर, सिभिल मल, दरबार सिनेम्याक्स, लबिम मल र सिटी स्क्वायर मलस्थित आफ्ना हलमा टिकट बुकिङ खुलाएको छ।
एक्सन–थ्रिलर जनरामा बनेको यस फिल्मका निर्देशक नचिकेत सामन्त हुन्। निर्माण टिमका अनुसार फिल्म ‘बेबी’ नामकी एक रहस्यमयी महिलाको कथामा आधारित छ। बाहिरबाट सामान्य जीवन बिताउने उनी भित्रभित्रै अन्डरवर्ल्डसँग जोडिएर हिंसात्मक र खतरनाक आपराधिक गतिविधिमा संलग्न हुन्छिन्।
सार्वजनिक ट्रेलरमा उनलाई एक ‘हिटवुमन’का रूपमा प्रस्तुत गरिएको छ। विगतको एक दर्दनाक घटनापछि उनी अपराध, बदलाको भावना र मानसिक द्वन्द्वको चक्रमा फसेको देखिन्छ। निर्माण टिमले फिल्म रहस्य, सस्पेन्स, एक्सन र अप्रत्याशित ट्विस्टले भरिएको दाबी गरेको छ।
फिल्ममा हुमा कुरेशी, सिकन्दर खेर, चंकी पाण्डे, सीमा पाहवा, रचित सिंह, विद्या मालवडे, हिमांशु मलिक, मरुधर शेखावत र अरुण कुशवाहलगायत कलाकारको अभिनय रहेको छ।
News Filmy Newsportal / Nepal