प्रदर्शनअघि नै ‘आ बाट आमा २’को मध्यपूर्व प्रदर्शन अधिकार बिक्री

काठमाडौं । निर्देशक चन्द्र पन्त निर्देशित चलचित्र ‘आ बाट आमा २’ ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा उत्साहजनक सफलता हासिल गरेको छ। निर्माण पक्षका अनुसार चलचित्रको मध्यपूर्व (यूएई, कुवेत, साउदी अरेबिया, कतार, बहराइन र ओमान) प्रदर्शन अधिकार बिक्री भएको छ।

आर्या इन्टरटेनमेन्ट प्रा.लि.का तर्फबाट निर्देशक चन्द्र पन्त र आशिष इन्टरटेनमेन्टको टोलीबीच वितरण अधिकारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। यससँगै चलचित्रको मध्यपूर्व प्रदर्शन अधिकार पूर्ण रूपमा ‘सोल्ड आउट’ भएको निर्माण पक्षले जनाएको छ।

यसअघि नै चलचित्रको जापान प्रदर्शन अधिकार आर एन्ड बी इन्टरटेनमेन्ट ले तथा अमेरिका र क्यानडाको प्रदर्शन अधिकार डोको फिल्म्स ले महँगो रकममा खरिद गरिसकेका छन्।

आर्या इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा पल शाह, मलिका महत, विपना थापा, प्रदीप रावत, आकाश श्रेष्ठ, रिस्ता गुरुङ, निकिता आचार्य, सबिन श्रेष्ठ, साइग्रेस पोखरेल, गजित बिष्ट र नरेन खड्कालगायत कलाकारको मुख्य भूमिका रहेको छ।

वैदेशिक रोजगारीका कारण सन्तानबाट टाढिन बाध्य बनेकी आमाको पीडा र सन्तानको प्रतीक्षामा बितेको जीवनलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रले दर्शकको मन छुने विश्वास निर्माण पक्षको छ। चलचित्रमा समावेश गरिएको संवाद, ‘आउँछु भन्ने एउटा झुटो आशामा आमाले वर्षौंदेखि जमरा छरिरहेकी हुन्छिन्’, ले कथावस्तुप्रति थप उत्सुकता जगाएको छ।

प्रदर्शनअघि नै विभिन्न अन्तर्राष्ट्रिय बजारमा वितरण अधिकार बिक्री हुनुले चलचित्रप्रति वितरकहरूको उच्च विश्वास देखिएको निर्माण पक्षको भनाइ छ। निर्देशक चन्द्र पन्तकै लेखन तथा पटकथा रहेको चलचित्रका प्रोडक्सन म्यानेजर करणसिंह रसाली हुन्।

आगामी असोज ३० गते प्रदर्शनमा आउने तयारीमा रहेको ‘आ बाट आमा २’ को स्लोगन ‘दशैंको जमरा र आमाको पर्खाइको कथा’ रहेको छ। पारिवारिक तथा भावनात्मक कथावस्तुमा आधारित यस चलचित्रको नेपाल वितरण आरआर फिल्म्स ले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटल ले लिएको छ।

यसअघि चन्द्र पन्तकै निर्देशन तथा निर्माणमा बनेको ‘आ बाट आमा’ ले घरेलु बक्स अफिसमा १३ करोड रुपैयाँभन्दा बढी व्यापार गरेको थियो। चलचित्र विकास बोर्डले पनि आफ्नो २६औं वार्षिक उत्सवका अवसरमा सार्वजनिक गरेको सर्वाधिक कमाउने नेपाली चलचित्रहरूको सूचीमा यसलाई समावेश गरेको थियो।

Leave a Reply