‘मन विनाको धन २’मा विपिन कार्की भित्रिए

काठमाडौं। चाँडै छायांकनमा जान लागेको फिल्म ‘मन विनाको धन २’ मा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन्। पछिल्लो समय नेपाली फिल्म उद्योगका सर्वाधिक व्यस्त तथा माग भएका अभिनेतामध्ये एक मानिने कार्कीको प्रवेशसँगै फिल्मको कलाकार लाइनअप थप बलियो बनेको छ। यद्यपि, उनले फिल्ममा निर्वाह गर्ने भूमिकाबारे निर्माण पक्षले हालसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन।

टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यस फिल्ममा टंक बुढाथोकीको कथा तथा निर्देशन रहनेछ भने शिवम् अधिकारीले पटकथा तथा संवाद लेखेका छन्।

हाल फिल्मको प्रि–प्रोडक्सनको काम तीव्र गतिमा भइरहेको छ। यसअघि नै अभिनेत्री पूजा शर्मा, अभिनेता महेश त्रिपाठी तथा कलाकार सरोज खनाल र किरण केसी फिल्मका लागि अनुबन्धित भइसकेका छन्।

पूजा शर्मा र विपिन कार्की पहिलो पटक एउटै फिल्ममा सहकार्य गर्न लागेका हुन्। त्यसैले पनि उनीहरूको अनस्क्रिन केमेस्ट्री दर्शकका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।

सामाजिक कथावस्तुमा आधारित फिल्ममा विपिनको प्रवेशपछि निर्देशक टंक बुढाथोकीले भने, “हामी केही सातादेखि विपिनजीसँग छलफलमा थियौं। उहाँ कथावस्तुप्रति निकै उत्साहित हुनुभयो। दर्शकले उहाँलाई यस फिल्ममा नयाँ अवतारमा देख्न पाउनेछन्।”

गत वर्ष प्रदर्शनमा आएको ‘मन विनाको धन’ ले बक्स अफिसमा करिब ४ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। पहिलो श्रृंखलाको सफलतापछि निर्माण पक्षले ‘मन विनाको धन २’ लाई अझ सशक्त रूपमा दर्शकमाझ ल्याउने तयारी गरेको जनाएको छ।

Leave a Reply