‘हली’ टिमले धान रोपेर मनायो असार १५

काठमाडौं। आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘हली’को निर्माण टिमले असार १५ को अवसरमा धान रोपेर राष्ट्रिय धान दिवस मनाएको छ। सोमबार ललितपुरको सुनाकोठीमा आयोजित रोपाइँ कार्यक्रममा फिल्मका कलाकार, निर्माता र संगीतकार सहभागी भएका थिए।

रोपाइँ कार्यक्रममा अभिनेता प्रमोद दीप, अभिनेत्री सुजता थापा र विद्या कार्की, संगीतकार बाबुल गिरी तथा निर्माता पूजा गुरुङ र जस्मिन श्रेष्ठ सहभागी भए। किसानको जीवनमा आधारित कथा भएकाले असार १५ को अवसरमा रोपाइँमा सहभागी भएर किसानप्रति सम्मान व्यक्त गरिएको निर्माण पक्षले जनाएको छ।

जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको सहकार्यमा निर्माण भएको फिल्म वास्तविक घटनाबाट प्रेरित रहेको जनाइएको छ। निर्देशक ओम प्रतीकका अनुसार फिल्मले समाज परिवर्तनका लागि एउटा ‘हली’को भूमिका कति महत्त्वपूर्ण हुन सक्छ भन्ने सन्देश दिनेछ।

फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीको अभिनय रहेको छ। निर्देशक ओम प्रतीक स्वयं पनि फिल्ममा मुख्य भूमिकामा देखिएका छन्।

फिल्मका गीतमा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ। गीतमा बाबुल गिरी र शान्तिश्री परियारको स्वर सुन्न सकिनेछ। कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मलाई नेशनल सिने ग्रुप प्रालिले वितरण गर्नेछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

Leave a Reply