काठमाडौं। अभिनेत्री सलिना तामाङ आगामी नेपाली फिल्म **‘कंगाल करोडपति’**मा अभिनेता मुकुन भुसालको अपोजिट मुख्य भूमिकामा अनुबन्धित भएकी छन्। राजु श्रेष्ठको निर्देशनमा बन्न लागेको यस फिल्मबाट सलिनाले नेपाली फिल्ममा डेब्यू गर्न लागेकी हुन्।
निर्माण टिमका अनुसार सलिनासँग यसै महिना औपचारिक सम्झौता गरिएको हो। फिल्ममा मुकुन र सलिना पहिलोपटक अनस्क्रिन जोडीका रूपमा देखिनेछन्।
फिल्ममा आबद्ध भएपछि सलिनाले ‘कंगाल करोडपति’ आफ्नो डेब्यूका लागि उपयुक्त परियोजना भएको बताएकी छन्। उनले दर्शकले आफ्नो अभिनय र फिल्मलाई माया गर्ने विश्वास व्यक्त गरेकी छन्।
सलिनाले भारतको मुम्बईस्थित द एक्टर्स ट्रुथमा अभिनेता तथा अभिनय प्रशिक्षक सौरभ सचदेवासँग अभिनय प्रशिक्षण लिएकी हुन्।
सिनेमा पाठशाला प्रालिको ब्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता प्रविन आचार्य र निर्माता अनिलकुमार बुढाथोकी हुन्। सहनिर्मातामा छिरिङ तामाङ, प्रबिन राई र प्रवेश सापकोटा रहेका छन् भने रीता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसरका रूपमा रहेका छन्।
फिल्मको कथा सुमन गजमेरले लेखेका हुन्। निर्माण टिमका अनुसार केही कलाकारको छनोट भइसकेको छ भने बाँकी पात्रका लागि चाँडै अडिसन आह्वान गरिनेछ।
News Filmy Newsportal / Nepal