काठमाडौं। निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय फिल्म ‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ। असार १५ अर्थात् दहीचिउरा खाने दिनको अवसर पारेर निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै फिल्मका दुई पोस्टर सार्वजनिक गरेको हो।
सार्वजनिक पोस्टरमा मुख्य कलाकार सोनम तोप्देन र उपासना सिंह ठकुरीलाई फरक–फरक भावमा प्रस्तुत गरिएको छ। एउटा पोस्टरमा उनीहरू प्रेमिल क्षणमा देखिएका छन् भने अर्कोमा गम्भीर र भावुक मुद्राले कथामा आउने द्वन्द्व र भावनात्मक उतारचढावको संकेत गरेको छ।
निर्देशक मगरका अनुसार ‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीक मानिने ढुंगाको स्तम्भलाई जनाउने शब्द हो। फिल्मले मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावनालाई प्रेमकथासँग जोडेर प्रस्तुत गर्नेछ।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सोनम र उपासनासँगै शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, लुनिभा तुलाधरलगायत कलाकारको अभिनय रहेको छ। यसै फिल्मबाट मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन्।
निर्देशक मगरको डेब्यु फिल्म ‘खुस्मा’ व्यावसायिक रूपमा सफल भएको थियो। उक्त फिल्मबाट अभिनेत्री उपासना सिंह ठकुरीले राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन्। सोही सफल सहकार्यलाई निरन्तरता दिँदै उनी ‘जलाकी’मा पनि मुख्य भूमिकामा देखिनेछिन्।
फिल्ममा शैलेन्द्र डी. कार्कीको छायांकन, एसडी योगी र सरित राईको संगीत तथा सुरेन्द्र राना र राम अविरल विष्टको गीत रहेको छ। काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रिब्युसनले फिल्मको वितरण गर्नेछन्।
News Filmy Newsportal / Nepal