काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘अक्षरा’को पहिलो लुक्स सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार फिल्मको प्रचार अभियानअन्तर्गत पहिलो पोस्टर सार्वजनिक गरेको हो।
सार्वजनिक पोस्टरमा फिल्मकी मुख्य अभिनेत्री न्यान्सी खड्कालाई केन्द्रमा राखिएको छ। उनी ढुङ्गे चौतारोमा रुखमुनि एक्लै गम्भीर मुद्रामा टोलाइरहेको अवस्थामा देखिन्छिन्। अनुहारको भाव, शारीरिक हाउभाउ र पोस्टरको समग्र दृश्यले उनी कुनै गहिरो मानसिक द्वन्द्व, विरह वा जीवनको कठिन मोडमा रहेको संकेत गर्छ।
पोस्टरको अर्को आकर्षण यसको पृष्ठभूमि हो। पात झरेका, नाङ्गा र उजाड रुखहरूले एक प्रकारको शून्यता, पीडा र एक्लोपनको अनुभूति गराउँछन्। निर्देशकले पोस्टरमार्फत फिल्मको कथावस्तु पूर्ण रूपमा नखुलाए पनि मुख्य पात्रको मनोवैज्ञानिक संघर्ष र भावनात्मक यात्राको संकेत भने दिएका छन्।
यसअघि ‘१२ गाउँ’बाट दर्शकमाझ परिचित बनेकी न्यान्सी अनमोल केसी अभिनीत आगामी फिल्म ‘बाटुलो जुन’ मा पनि देखिँदै छिन्। अमेरिकामा सञ्चार विषय अध्ययन गरेकी उनी मोडलिङ क्षेत्रबाट अभिनयमा आएकी हुन्। ‘मिस नेपाल इन्टरनेसनल २०२२’ विजेता न्यान्सीले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्वसमेत गरेकी थिइन्।
विनय राज पौडेल निर्देशित फिल्ममा न्यान्सीसँगै सुशील सिटौला, सुशील पोखरेल, पुष्कर राउत, सृष्टि खड्का, उत्तम केसी, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, बिरेन्द्र कुशवाहा, सुमन ज्योती न्यौपाने (ल्याङ्ग्री दादा), निशा पन्थी, सृजना अधिकारी, मोहन अधिकारी, त्रिलोचन न्यौपाने, प्रदीप धुलुङ, विश्वनाथ तामाङ, रबिन्द्र अधिकारी, प्रजल दुलाल र निशा कुइकेलको अभिनय रहेको छ। बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुंगाना पनि फिल्ममा देखिनेछन्।
सोनी थापा (ढुंगाना)को प्रस्तुति रहेको फिल्म क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको हो। उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना निर्माता रहेको फिल्मको कथा उग्रसेन ढुंगानाले लेखेका हुन् भने पटकथा तथा संवादमा निर्देशक पौडेललाई लेखक अभिमन्यु निरवीले साथ दिएका छन्। कार्यकारी निर्मातामा सुरज थापा काजी र सुमन ज्योति न्यौपाने रहेका छन्।
फिल्ममा कर्णराज गिरीको संगीत, सुरेन्द्र रानाका गीत, रामजी लामिछानेको कोरियोग्राफी, शंकर महर्जनको द्वन्द्व निर्देशन र दिपेन बस्न्यातको छायांकन रहेको छ। गौतम राज खड्काले सम्पादन गरेको फिल्मको कलर ग्रेडिङ रेनिस फागोले गरेका छन्। पोस्टर डिजाइन राकेश दाहालले गरेका हुन् भने फिल्मलाई नेशनल सिने ग्रुप नेपाल प्रा.लि.मार्फत दीपक दंगालले देशभर वितरण गर्नेछन्।
News Filmy Newsportal / Nepal