काठमाडौं ।अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ‘कार्की साइँला’ आगामी असोज २ गते प्रदर्शन हुने भएको छ। निर्माण पक्षले बुधबार नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।
यसअघि साउन १ गते प्रदर्शनको तयारी गरिएको फिल्म वितरकसँगको छलफलपछि असोज २ मा सरेको निर्माण टिमले जनाएको छ।
सार्वजनिक पोस्टरमा जितु नेपाल र अभिनेत्री प्रियना आचार्य (मुन्नी) रोमान्टिक अवतारमा देखिएका छन्। पोस्टरले फिल्ममा प्रेमकथाको संकेत गरेको छ।
राजेन्द्र बस्नेत निर्देशित फिल्ममा जितु र प्रियनासँगै सुशील पोखरेल, बीरेन्द्र सिंह कुशवाह, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटाको अभिनय छ।
कर्णबहादुर फिल्म्स प्रालिको ब्यानरमा बनेको फिल्मका निर्माता बालकुमार राई हुन्। कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता तथा अनन्त राई कार्यकारी निर्माता छन्।
सबिन अधिकारी र शङ्कर धितालको लेखन रहेको फिल्मको छायांकन धनकुटा, बराहक्षेत्र र चतरा लगायत पूर्वी नेपालका विभिन्न स्थानमा गरिएको छ। फिल्ममा डम्बर राईको छायांकन, किरण दाहालको द्वन्द्व निर्देशन र दिप्सन लिम्बुको संगीत रहेको छ।
फिल्मलाई काठमाडौं उपत्यकामा काफिया फिल्म्स र मोफसलमा कुबेर फिल्म्सले वितरण गर्नेछन्।
News Filmy Newsportal / Nepal