साउन १ मा ‘गौँथली’, आकर्षणमा अरुण–सिम्रनको जोडी

काठमाडौं।  निर्देशक डा. कपिल रिजालको फिल्म ‘गौँथली’ साउन १ गतेदेखि प्रदर्शनमा आउने भएको छ। फिल्ममा अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्काले पहिलोपटक अनस्क्रिन जोडीका रूपमा अभिनय गरेका छन्।

फिल्ममा उनीहरू श्रीमान्–श्रीमतीको भूमिकामा देखिएका छन्। ‘महापुरुष’बाट चर्चित बनेका अरुण र ‘प्रेमगन्ज’, ‘चित्रा’ तथा ‘बेहुली फ्रम मेघौली’बाट दर्शकमाझ परिचित सिम्रनको जोडीप्रति दर्शकको चासो बढेको निर्माण पक्षले जनाएको छ।

केही दिनअघि सार्वजनिक गरिएको फिल्मको गीत ‘आँखा भरी आँसु’ ले सकारात्मक प्रतिक्रिया पाइरहेको निर्देशक रिजालले बताए। थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको गीतमा संगीत थानेश्वरकै छ भने शब्द डा. भोला रिजालले लेखेका हुन्।

यसअघि सार्वजनिक गरिएको टिजरले पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाएको निर्देशक रिजालको भनाइ छ। उनका अनुसार फिल्मले शारीरिक समस्याले व्यक्तिको जीवनमा पार्ने प्रभावलाई प्रस्तुत गरेको छ।

‘गौँथली’मा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको पनि अभिनय छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली देखिएका छन्।

डा. भोला रिजालको कथामा बनेको फिल्मको पटकथा तथा संवाद लेखनमा निर्देशक रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेको सहकार्य छ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मका निर्माता सुमन गिरी र डा. कपिल रिजाल हुन्। फिल्मलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्।

उल्लेखनीय छ, डा. भोला रिजालले दुई दशकअघि निर्माण गरेको ‘गौथली’लाई नेपालको पहिलो गीति फिल्मका रूपमा लिइन्छ। सोही नाममा बनेको नयाँ संस्करणलाई उनका छोरा डा. कपिल रिजालले निर्देशन गरेका हुन्।

Leave a Reply