काठमाडौं। आगामी असोज ३० गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘आ बाट आमा २’ को हङकङ प्रदर्शन अधिकार बिक्री भएको छ। फिल्मको छायाङ्कन पूरा हुनुअघि नै हङकङस्थित श्री स्वर्णिम कम्युनिकेसन प्रालिले यसको प्रदर्शन अधिकार खरिद गरेको निर्माण पक्षले जनाएको छ।
हङकङ प्रदर्शन अधिकार बिक्री भएसँगै निर्माण टिम उत्साहित बनेको छ। निर्देशक चन्द्र पन्तका अनुसार फिल्मको प्रदर्शन अधिकार उल्लेख्य रकममा बिक्री भएको भए पनि व्यापारिक कारणले सम्झौता रकम सार्वजनिक गरिएको छैन।
गत वर्ष प्रदर्शनमा आएको ‘आ बाट आमा’ को सिक्वेलका रूपमा निर्माण भइरहेको यस फिल्मको जापान प्रदर्शन अधिकार आर एन्ड बी इन्टरटेनमेन्ट र अमेरिका–क्यानडा प्रदर्शन अधिकार डोको फिल्म्सले यसअघि नै खरिद गरिसकेका छन्। यसले फिल्मप्रति अन्तर्राष्ट्रिय बजारमा बढ्दो चासो र विश्वास झल्काएको निर्माण पक्षको विश्वास छ।
आर्या इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको फिल्ममा पल शाह, मलिका महत, आकाश श्रेष्ठ, रिस्ता गुरुङलगायत कलाकारको अभिनय रहेको छ। ‘दशैंको जमरा र आमाको पर्खाइको कथा’ भन्ने नारासहित निर्माण भइरहेको फिल्मले आमा–सन्तानबीचको भावनात्मक सम्बन्ध र प्रतीक्षाको कथा प्रस्तुत गर्नेछ।
फिल्मको नेपाल वितरण अधिकार आरआर फिल्म्ससँग रहेको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलले प्राप्त गरेको छ।
News Filmy Newsportal / Nepal