काठमाडौं। निर्माणाधीन फिल्म ‘महाराजाधिराज’मा अभिनेत्री पूजना प्रधान अनुबन्धित भएकी छन्। छायांकनको मध्य चरणमा निर्माण टिमले उनलाई औपचारिक रूपमा फिल्ममा भित्र्याएको हो।
सोमबार ३३औँ दिनको छायांकन चलिरहेका बेला निर्माण पक्षले पूजनाको अनुबन्धबारे जानकारी दिएको हो। फिल्मका प्रस्तुतकर्ता विराज विष्टले उपयुक्त कलाकारको खोजीका क्रममा पूजनालाई अनुबन्ध गरिएको बताए। उनका अनुसार पूजनाको प्रवेशसँगै फिल्मको कलाकार टोली थप सशक्त बनेको छ।
हाल फिल्मको छायांकन काठमाडौंका विभिन्न स्थानमा भइरहेको छ। सुनसरीको श्रीलंका टापुबाट सुरु भएको छायांकन भक्तपुर हुँदै काठमाडौंमा जारी छ। फिल्मको कुल छायांकन तालिका ७० दिनको रहेको जनाइएको छ।
परिच्छेद सेनको निर्देशनमा निर्माण भइरहेको ‘महाराजाधिराज’ सामाजिक पिरियड ड्रामामा आधारित फिल्म हो। निर्देशक सेन स्वयंले यसको कथा लेखेका छन् भने नवराज थापाले छायांकन गरिरहेका छन्।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको फिल्ममा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित विष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डीसी र सुशील सिटौलालगायत कलाकारको अभिनय रहनेछ। फिल्मका निर्माता रवि खड्का र टोपेन्द्र विष्ट हुन्।
News Filmy Newsportal / Nepal