‘बा : एक योद्धा’को पोस्टर सार्वजनिक, दिब्यदेव पन्त शीर्ष भूमिकामा

काठमाडौं। फिल्म ‘बा : एक योद्धा’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमार्फत शीर्ष भूमिका ‘बा’मा अभिनय गर्ने कलाकारबारे जानकारी दिइएको छ।

पोस्टरमा दिब्यदेव पन्त ‘बा’को भूमिकामा देखिएका छन्। सामान्य पहिरनमा झोला बोकेर हिँडिरहेका उनको पात्र तनावग्रस्त देखिन्छ।

घरको भित्तामा टाँसिएको तस्बिरबाट चार सदस्यीय परिवार रहेको संकेत मिल्छ। फलैँचामा बाबु–आमा बसेको दृश्य र आकाशमा देखिएको हवाइजहाजले परिवारको कुनै सदस्य वैदेशिक रोजगारी वा अध्ययनका लागि विदेश गएको हुन सक्ने अनुमान गर्न सकिन्छ।

पोस्टरले सन्तानका लागि बुवाले गर्ने संघर्षको कथा फिल्मले समेटेको संकेत गरेको छ। साथै, दिब्यदेवको अपोजिटमा झरना थापा रहेको पनि खुल्छ। फिल्ममा झरना र सुहाना आमा–छोरीको भूमिकामा छन्।

फिल्ममा सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा र अनिल बुढाथोकीको पनि अभिनय छ। हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्म कुसे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउने तयारीमा छ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा र पटकथा पनि लम्सालकै हो। निर्माता वसन्त लम्साल हुन्। शिवराम श्रेष्ठको छायांकन रहेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन्।

फिल्म १९ भदौदेखि प्रदर्शनमा आउने तयारीमा छ।

Leave a Reply