चन्द्र पन्तको नयाँ फिल्ममा पल शाह अनुबन्धित

काठमाडौं। निर्देशक चन्द्र पन्त र अभिनेता पल शाहले तेस्रो पटक फिल्ममा सहकार्य गर्ने भएका छन्। शुक्रबार दुवैबीच नयाँ फिल्मका लागि लिखित सम्झौता भएको हो।

यसअघि पन्त र पलले ‘आ बाट आमा’ तथा यसको सिक्वेल ‘आ बाट आमा २’मा सहकार्य गरिसकेका छन्। नयाँ फिल्मको नाम भने निर्माण टिमले सार्वजनिक गरेको छैन।

‘आ बाट आमा २’को पहिलो चरणको छायांकन सम्पन्न भएलगत्तै निर्देशक पन्तले पललाई नयाँ परियोजनामा अनुबन्धित गरेका हुन्। फिल्मका अन्य कलाकार तथा प्राविधिकबारे जानकारी केही समयपछि सार्वजनिक गरिने जनाइएको छ। निर्देशक पन्तले भने यो फिल्म ‘आ बाट आमा ३’ नभएको स्पष्ट पारेका छन्।

दशैंको अवसर पारेर असोज ३० गते प्रदर्शनमा आउने ‘आ बाट आमा २’को नेपालतर्फको छायांकन सकिएको छ। अब बाँकी छायांकन बेलायतमा गरिने निर्माण टिमले जनाएको छ।

फिल्ममा पल शाहसँगै विपना थापा, आकाश श्रेष्ठ, प्रदीप रावत, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, सविन श्रेष्ठ, साइग्रेस पोखरेल, गजित विष्ट र नरेन खड्कालगायत कलाकारको अभिनय रहनेछ। फिल्मले आमा र छोराबीचको भावनात्मक सम्बन्धको कथा प्रस्तुत गर्नेछ।

Leave a Reply