काठमाडौं । निर्देशक सरोज पौडेलको नयाँ सिनेमा ‘सिन्दुरे जात्रा’ आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने भएको छ। हाल छायांकनको चरणमा रहेको सिनेमाले प्रदर्शनभन्दा करिब ६ महिनाअघि नै रिलिज मिति सार्वजनिक गरेको हो।
सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको सिनेमाको छायांकन पर्वतको कुस्मा नगरपालिका–आर्थर डाँडाखर्कबाट सुरु भएको छ। छायांकनका क्रममा अभिनेता विजय बराल घाइते भएपछि केही समय काम रोकिएको थियो। निर्माण टिमका अनुसार बाँकी छायांकन असार १५ पछि पुनः सुरु हुनेछ।
सिनेमामा विजय बराल, अञ्जना बराइली, विनोद न्यौपाने, कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा र पूर्व मिस नेपाल उषा खड्गीको अभिनय रहनेछ। विजय र अञ्जनाले निर्देशक पौडेलसँग ‘पूर्णबहादुरको सारङ्गी’पछि दोस्रोपटक सहकार्य गरेका हुन्।
निर्देशक पौडेलकै लेखन रहेको सिनेमाको पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले तयार गरेका छन्। बाबु श्रेष्ठको छायांकन, नहकुल खड्काको सम्पादन तथा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहेको सिनेमालाई आरआर फिल्म्सले वितरण गर्नेछ।
News Filmy Newsportal / Nepal