‘अक्षरा’को तीज गीत छायांकन, भदौ २६ मा प्रदर्शन

काठमाडौं । निर्देशक विनयराज पौडेलको डेब्यु निर्देशन रहेको फिल्म ‘अक्षरा’को तीज गीत ‘नाँचौं न बरिलै’ छायांकन गरिएको छ। सोमबार काठमाडौंको गोकर्णस्थित उत्तरबाहिनी मन्दिरमा गीतको छायांकन गरिएको हो। छायांकनका लागि मन्दिर परिसरलाई विशेष रूपमा सजाइएको थियो।

गीतमा समीक्षा अधिकारीको स्वर, कर्णराज गिरीको संगीत र सुरेन्द्र राणाको शब्द छ। स्टुडियो तासमा रेकर्ड गरिएको गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङ विजेश्वर राज तण्डुकारले गरेका छन्।

गीतको भिडियोमा फिल्मका प्रमुख कलाकार रिस्ता बस्नेत, न्यान्सी खड्का र सुशील सिटौलाले अभिनय गरेका छन्। उनीहरूलाई कोरियोग्राफर रामजी लामिछानेले नृत्य निर्देशन गरेका हुन्।

क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण भएको फिल्म आगामी भदौ २६ गते प्रदर्शनमा आउने तयारीमा छ। फिल्ममा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह र सृजना अधिकारीको मुख्य अभिनय रहेको छ। बाल कलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुंगानाले पनि अभिनय गरेका छन्।

फिल्मका कार्यकारी निर्माता सुरज थापाकाजी हुन् भने उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना निर्माता रहेका छन्। अभिमन्यु निरवीको पटकथा तथा संवाद रहेको फिल्ममा सुरेन्द्र राणाको शब्द र कर्णराज गिरीको संगीत रहनेछ।

दिपेन बस्न्यातले छायांकन गरिरहेको फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी, शंकर महर्जनको द्वन्द्व निर्देशन, मदन न्यौपानेको मेकअप, प्रार्थना भट्टराईको वेशभूषा र सुमन काफ्लेको निर्माण व्यवस्थापन रहेको छ।

राकेश दाहालले पोस्टर डिजाइन गरेको फिल्मलाई नेशनल सिने ग्रुप नेपालमार्फत दीपक दंगालले वितरण गर्नेछन्। मुख्य सहायक निर्देशक दिवस बोहरा र सहायक निर्देशक मनोज बोहरा रहेका छन्।

निर्देशक विनयराज पौडेलले यसअघि नेपाली फिल्म क्षेत्रमा सहायक निर्देशकका रूपमा लामो समय काम गरेका थिए। ‘अक्षरा’ उनको पहिलो निर्देशकीय फिल्म हो।

Leave a Reply