अञ्जु पन्तकी छोरी पारितोषिकाको फिल्ममा डेब्यू, ‘तीन तिघ्रे, क्या बिग्रे’मा शीर्ष भूमिका

काठमाडौं । चर्चित गायिका अञ्जु पन्तकी छोरी पारितोषिका पन्तले फिल्म अभिनयमा डेब्यू गर्ने भएकी छन् । निर्देशक अमरदीप सापकोटाको आगामी फिल्म ‘तीन तिघ्रे, क्या बिग्रे’मा उनी शीर्ष भूमिकाका लागि अनुबन्धित भएकी हुन् ।

निर्देशक सापकोटाका अनुसार पारितोषिकासँग सोमबार निर्माण टिमले औपचारिक लिखित सम्झौता गरेको छ । फिल्ममा उनी मुख्य पात्रको भूमिकामा देखिनेछिन् ।

‘केही समयअघि पारितोषिकाले अभिनय गरेको नाटक ‘स्वर्णदेश’ हेरेपछि अञ्जु पन्त दिदीसँग यस विषयमा कुरा भएको थियो,’ निर्देशक सापकोटाले भने, ‘हामीलाई नयाँ अनुहार आवश्यक थियो । त्यसैले हामी आफैंले उहाँलाई प्रस्ताव गरेका हौं ।’

पारितोषिकाले केही समय मण्डला थिएटरमा अभिनय प्रशिक्षणसमेत लिएकी थिइन् । यही फिल्ममार्फत चर्चित गायक पशुपति शर्माले पनि अभिनयमा डेब्यू गर्ने भएका छन् ।

रघुनाथ सापकोटाको निर्माण रहने फिल्मको छायांकन आगामी असार २८ गतेदेखि सुरु हुनेछ । फिल्मको छायांकन काठमाडौंको कीर्तिपुर र काभ्रेको पनौती क्षेत्रमा गरिने जनाइएको छ ।

हाल फिल्मको प्रि–प्रोडक्सन कार्य तीव्र रूपमा अघि बढिरहेको निर्माण पक्षले जनाएको छ ।

Leave a Reply