काठमाडौं । निर्देशक तथा कथाकार माओत्से गुरुङको नयाँ फिल्म ‘पेन्सन पट्टा’ प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा आकर्षणको केन्द्र बनेको छ। निर्माण पक्षका अनुसार फिल्मको अस्ट्रेलिया र न्युजिल्यान्ड प्रदर्शन अधिकार बिक्री भएको छ।
यसअघि बेलायत र हङकङका प्रदर्शन अधिकार बिक्री भइसकेका थिए। बेलायतमा सपन इन्टरटेनमेन्ट लिमिटेड र हङकङमा मेन ड्रागन लिमिटेडले प्रदर्शन अधिकार खरिद गरेका थिए। अहिले अस्ट्रेलिया र न्युजिल्यान्डका लागि द ब्याक इभेन्ट्सले अधिकार खरिद गरेको निर्माण पक्षले जनाएको छ।
माओत्से गुरुङ फिल्म्सको ब्यानरमा बनेको फिल्मले नेपाली समाज, परिवार, सम्बन्ध र मानवीय संवेदनाको कथा प्रस्तुत गर्ने बताइएको छ। फिल्ममा पेन्सन पट्टाले मानिसको जीवनमा जगाउने आशा र त्यसका लागि गर्नुपर्ने संघर्षलाई मानवीय दृष्टिकोणबाट चित्रण गरिएको छ।
फिल्ममा दयाहाङ राई, सुनिल थापा, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, सोल गुरुङ, सूरज तमु, राज थापा काउँचा, मनोज गुरुङ, अनुशा राई र लुनिभा तुलाधरलगायत कलाकारको अभिनय छ।
फिल्मका लेखक तथा निर्देशक माओत्से गुरुङ हुन्। छायांकन सुशन प्रजापति, सम्पादन केर डी. कोइच लिनुच, ध्वनि डिजाइन उत्तम न्यौपाने र रंग संयोजन राजेन्द्र मोक्तानले गरेका छन्।
निर्माण पक्षका अनुसार बेलायत, हङकङ, अस्ट्रेलिया र न्युजिल्यान्डपछि अन्य मुलुकबाट समेत प्रदर्शन अधिकारबारे छलफल भइरहेको छ। ‘पुरानो डुङ्गा’ र ‘दयारानी’पछि माओत्से गुरुङको नयाँ फिल्म भएकाले पनि विदेशमा चासो बढेको जनाइएको छ।
News Filmy Newsportal / Nepal