लिम्बू चलचित्र निर्माण तथा बजार सम्भाव्यता अध्ययन कार्यशाला सम्पन्न

काठमाडौं । लिम्बू समुदायको मौलिक कथा, मुन्धुम, संस्कृति र जीवनदर्शनलाई चलचित्रसँग जोड्ने उद्देश्यले आयोजित ‘लिम्बू चलचित्र निर्माण तथा बजार सम्भाव्यता अध्ययन कार्यशाला’ सम्पन्न भएको छ।

चलचित्र विकास बोर्डको आर्थिक सहयोग तथा सहकार्यमा याक्थुङ मुन्चइत चोक सयङ संघीय समितिद्वारा आयोजित एक साताव्यापी कार्यशाला जेठ ३१ गते सम्पन्न भएको हो। समापन कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी प्रमुख अतिथिका रूपमा सहभागी थिए।

जेठ २५ गतेदेखि सञ्चालन भएको कार्यशालाको समापनसँगै आयोजित ‘लिम्बू चलचित्र विमर्श’ कार्यक्रममा लिम्बू चलचित्रको मौलिक कथ्य, निर्माण प्रक्रिया, अभिनय शैली, प्राविधिक गुणस्तर, प्रदर्शन, प्रवर्द्धन तथा बजार विस्तारका विषयमा छलफल गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दिनेश डीसीले नेपालका विविध भाषा, संस्कृति र समुदायका मौलिक कथाहरू राष्ट्रिय चलचित्र क्षेत्रका महत्त्वपूर्ण सम्पत्ति भएको बताए। उनले मातृभाषी चलचित्रको गुणस्तरीय निर्माण, प्रवर्द्धन र बजार विस्तारका लागि अध्ययन, प्रशिक्षण तथा संस्थागत सहकार्य आवश्यक रहेको धारणा राखे।

कार्यशालामा मुन्धुमविद् डीबी आङबुङ र निर्देशक नवीन सुब्बा ले मुन्धुम, याक्थुङ सभ्यता, कथ्य संरचना, अभिनय शैली तथा लिम्बू समुदायका मौलिक कथालाई चलचित्रमा रूपान्तरण गर्ने विषयमा प्रशिक्षण दिएका थिए।

लेखक, निर्देशक, निर्माता, कलाकार, छायाकार, सम्पादक, गायक तथा चलचित्र अध्ययन–अनुसन्धानमा संलग्न ३७ जना सहभागी रहेको कार्यशालाले लिम्बू समुदायका मौलिक कथा र सांस्कृतिक सम्पदालाई आधुनिक चलचित्र निर्माण तथा बजार प्रणालीसँग जोड्न महत्त्वपूर्ण योगदान पुर्‍याएको आयोजकको भनाइ छ।

Leave a Reply