‘रोल नम्बर १’प्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ्दो, विद्यालयहरूबीच सामूहिक अवलोकनको होड

काठमाडौं । फिल्म ‘रोल नम्बर १’ले विद्यार्थी, शिक्षक तथा अभिभावकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरिरहेको छ । विभिन्न विद्यालयहरूले आफ्ना विद्यार्थीलाई सामूहिक रूपमा फिल्म देखाउन थालेपछि विद्यालयहरूबीच नै अवलोकनको होड देखिन थालेको छ ।

फिल्म हेरेका विद्यार्थी र शिक्षकहरूले ‘रोल नम्बर १’लाई सम्पूर्ण परिवारले सँगै बसेर हेर्नुपर्ने फिल्मका रूपमा व्याख्या गरेका छन् । उनीहरूका अनुसार फिल्मले उठाएका विषयवस्तु विद्यार्थीका मात्र नभई अभिभावकका लागि पनि उत्तिकै सान्दर्भिक छन् ।

“हामीले विद्यालयबाट यो फिल्म हेर्‍यौं, तर यसमा उठाइएका विषयहरू अभिभावकले पनि आफ्ना छोराछोरीसँगै बसेर हेर्न आवश्यक छ । परिवारभित्र संवाद, समझदारी र आपसी बुझाइ बढाउन यसले महत्वपूर्ण भूमिका खेल्न सक्छ,” फिल्म हेरेका विद्यार्थी र शिक्षकहरूको भनाइ छ ।

शिक्षा, पारिवारिक सम्बन्ध, विद्यार्थी जीवनका चुनौती तथा सामाजिक यथार्थलाई भावनात्मक ढंगले प्रस्तुत गरिएको भन्दै दर्शकहरूले फिल्मको प्रशंसा गरिरहेका छन् । फिल्म हेरेपछि धेरै विद्यार्थी तथा अभिभावक भावुक बनेका छन् भने कतिपयले परिवारसहित पुनः हेर्ने इच्छा व्यक्त गरेका छन् ।

दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’का कारण ‘रोल नम्बर १’ले आगामी दिनमा अझ राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । फिल्मले विद्यार्थीदेखि अभिभावकसम्म सबै उमेर समूहका दर्शकको मन जित्न सफल भएको प्रतिक्रिया प्राप्त भइरहेको छ ।

Leave a Reply