‘गंगा रानी’मा रोशन केसीको डेब्यु, वर्षा सिवाकोटीसँग बाँधिने जोडी

काठमाडौं । निर्देशक राजबहादुर सानेको आगामी फिल्म ‘गंगा रानी’मा नवोदित कलाकार रोशन केसी मुख्य अभिनेताको रूपमा अनुबन्धित भएका छन् । करिब ५०० भन्दा बढी आवेदकमध्ये छनोट हुँदै उनले आफ्नो पहिलो फिल्ममै मुख्य भूमिका हात पारेका हुन् ।

 

फिल्मका लागि अभिनेत्री वर्षा सिवाकोटी यसअघि नै मुख्य भूमिकामा अनुबन्धित भइसकेकी छन् । ‘गंगा रानी’मार्फत रोशन र वर्षाको जोडी पहिलोपटक ठूलो पर्दामा देखिनेछ ।

 

केही म्युजिक भिडियोमार्फत अभिनय यात्रा सुरु गरेका रोशन आफ्नो डेब्यु फिल्मलाई लिएर उत्साहित छन् । उत्कृष्ट कथा र अनुभवी टिमसँग काम गर्ने अवसर पाएकाले फिल्ममार्फत अभिनय यात्रा सुरु गर्न तयार भएको उनले बताएका छन् ।

 

निर्माण टिमले वर्षा सिवाकोटीलाई अनुबन्धित गरेपछि ४ अभिनेता र ४ अभिनेत्रीका लागि अडिसन खुलाएको थियो । सोही अडिसनबाट रोशन मुख्य अभिनेताको रूपमा छनोट भएका हुन्।

 

निर्देशक सानेका अनुसार करिब ५०० भन्दा बढी आवेदकबाट रोशनलाई मुख्य भूमिकाका लागि छनोट गरिएको हो । उनले अडिसनबाट प्राप्त फोटो तथा भिडियोको आधारमा थप ३ अभिनेता र ३ अभिनेत्री छनोट गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए ।

 

‘अडिसनमा सहभागी भएका प्रतिभामध्ये पात्रसँग सुहाउने कलाकार छनोट गरिरहेका छौं । अन्य कलाकारहरूको नाम पनि छिट्टै सार्वजनिक गर्नेछौं,’ निर्देशक सानेले भने ।

Leave a Reply