काठमाडौं । नेपाली फिल्म ‘गौथली’को पहिलो गीत ‘आँखा भरी आँसु’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा निर्माण टिमले गीत सार्वजनिक गरेको हो ।
४ मिनेट ५९ सेकेन्ड लामो गीतमा सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठलगायत कलाकारहरू फिचर्ड छन् । गीत सार्वजनिक कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले फिल्मको कथावस्तु पारिवारिक परिवेशसँग जोडिएको बताउँदै दर्शकले मन पराउने विश्वास व्यक्त गरे ।
उनले भने, “यसमा घर–परिवारको कथा जोडिएको छ । फिल्म सफल हुनेमा मलाई विश्वास छ । सबै कलाकारले उत्कृष्ट अभिनय गर्नुभएको छ । सबैको योगदानको वर्णन गरेर साध्य छैन ।”
कार्यक्रममा अभिनेत्री सिम्रन खड्काले ‘गौथली’मा शीर्ष पात्रको भूमिका निर्वाह गर्न पाएको अवसरलाई आफ्नो अभिनय यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा वर्णन गरिन् ।
उनले भनिन्, “‘गौथली’ आजभन्दा २५ वर्षअघि निर्माण भएको फिल्म हो । त्यो समयमा म जन्मिएकी पनि थिइनँ । २५ वर्षपछि पुनः बन्न लागेको यही फिल्ममा ‘गौथली’ पात्र निभाउने अवसर पाउनु मेरो लागि ठूलो कुरा हो । सम्पूर्ण टिमसँग काम गर्न पाउँदा निकै खुसी लागेको छ ।”
निर्देशक डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौथली’ आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउनेछ । दुई दशकअघि वरिष्ठ चिकित्सक डा. भोला रिजालको कथामा निर्माण भएको चर्चित फिल्म ‘गौथली’कै नाम सापटी लिएर नयाँ फिल्म निर्माण गरिएको हो । डा. कपिल रिजाल, डा. भोला रिजालका छोरा हुन् । पुरानो ‘गौथली’ले प्रदर्शनका क्रममा ५१ दिन मनाउन सफल भएको थियो ।
फिल्ममा अरुण क्षेत्री र सिम्रन खड्काको मुख्य भूमिका रहेको छ । उनीहरूसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।
डा. भोला रिजालको कथामा आधारित यस फिल्मको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेको सहकार्य रहेको छ ।
निर्माण पक्षका अनुसार ‘गौथली’ शब्दले घर, परिवार र आपसी सामीप्यताको प्रतीकात्मक अर्थ बोकेको छ ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मका कार्यकारी निर्माता सरला रिजाल हुन् । सुमन गिरी र डा. कपिल रिजाल निर्माता रहेको फिल्ममा इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा रहेका छन् ।
News Filmy Newsportal / Nepal