काठमाडौं । अन्तर्राष्ट्रिय चलचित्र मञ्चमा उल्लेखनीय सफलता हासिल गरेको फिल्म ‘इलिफेन्ट्स इन द फग’ को निर्माण तथा प्राविधिक टोलीलाई चलचित्र विकास बोर्डले नगदसहित सम्मान गरेको छ।
बोर्डले फिल्मका निर्माता, निर्देशक, कलाकार तथा प्राविधिक टोलीलाई नगद २ लाख ५० हजार रुपैयाँ, सम्मानपत्र, खादा र माला प्रदान गरेको हो।
चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा बुधबार नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान (नाथम) मा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असीम शाहले सम्मान प्रदान गरेका थिए।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले ‘इलिफेन्ट्स इन द फग’ ले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान स्थापित गर्न महत्त्वपूर्ण योगदान दिएको बताए। पछिल्ला वर्षमा नेपाली फिल्मले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय उपस्थिति जनाउन थालेको उल्लेख गर्दै उनले यस सफलताले समग्र फिल्म क्षेत्रलाई थप ऊर्जा दिएको बताए।
सूचना तथा सञ्चारमन्त्री तिमिल्सिनाले फिल्मले हासिल गरेको उपलब्धि राष्ट्रकै गौरवको विषय भएको बताए। उनले चलचित्र क्षेत्रको विकासका लागि आवश्यक कानुनी तथा नीतिगत सुधारमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले ‘इलिफेन्ट्स इन द फग’ को सफलताले नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा थप आत्मविश्वासका साथ अघि बढ्न प्रेरित गरेको बताए। उनले नेपाली फिल्मलाई विश्वस्तरमा स्थापित गर्न कानुनी तथा नीतिगत सुधारको प्रक्रिया अघि बढिरहेको जानकारी दिए।
सम्मान ग्रहण गर्दै निर्देशक अविनाश विक्रम शाहले यो उपलब्धि सम्पूर्ण नेपाली चलचित्रकर्मीको साझा सफलता भएको बताए। उनका अनुसार सिनेमा मनोरञ्जनको माध्यम मात्र नभई नेपालको संस्कृति, पहिचान र कथालाई विश्वसामु पुर्याउने प्रभावकारी माध्यम पनि हो।
कार्यक्रममा निर्माता अनुप पौडेल, प्रचण्डमान श्रेष्ठ, कलाकार पुष्पा थिङ लामा तथा अन्य कलाकार र प्राविधिक टोलीलाई समेत सम्मान गरिएको थियो।
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले फिल्मको अन्तर्राष्ट्रिय सफलताले नेपालको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
कान्स फिल्म फेस्टिभलको ‘अन सर्तेन रिगार्ड’ विधाअन्तर्गत जुरी पुरस्कार र उत्कृष्ट ध्वनि सिर्जना पुरस्कार–२०२६ जित्न सफल ‘इलिफेन्ट्स इन द फग’ ले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली कथा, संस्कृति र सिर्जनात्मक क्षमतालाई प्रभावशाली रूपमा प्रस्तुत गरेको मानिएको छ।
कार्यक्रममा विभिन्न मन्त्रालयका उच्च अधिकारी, चलचित्रकर्मी, कलाकार, निर्माता, निर्देशक तथा चलचित्रसम्बद्ध संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो।
News Filmy Newsportal / Nepal