‘पेन्सन पट्टा’को बेलायत र हङकङ प्रदर्शन अधिकार बिक्री

काठमाडौं । वरिष्ठ अभिनेता तथा निर्देशक माओत्से गुरुङको निर्देशनमा निर्माण भएको फिल्म ‘पेन्सन पट्टा’को विदेश प्रदर्शन अधिकार बिक्री हुन थालेको छ । आगामी भदौ २६ गते हरितालिका तीजको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको बेलायत र हङकङ प्रदर्शन अधिकार आकर्षक मूल्यमा बिक्री भएको हो ।

निर्देशक माओत्से गुरुङले फिल्मको कुनै पनि प्रचार सामग्री सार्वजनिक नहुँदै विदेश प्रदर्शन अधिकार बिक्री हुनु उत्साहजनक रहेको बताए । उनका अनुसार बेलायत प्रदर्शन अधिकार सपन इन्टरटेन्टमेन्ट लिमिटेडले तथा हङकङ प्रदर्शन अधिकार मेन ड्रागन लिमिटेडले खरिद गरेका छन् ।

गुरुङका अनुसार अन्य केही देशबाट पनि प्रदर्शन अधिकार खरिदका प्रस्ताव आएका छन् । ती प्रस्तावहरू अन्तिम चरणमा पुगेकाले चाँडै सम्झौता हुने अपेक्षा गरिएको छ ।

‘पेन्सन पट्टा’मा गुरुङ सिनेमाका ‘गडफादर’का रूपमा परिचित माओत्से गुरुङको निर्देशनसँगै लगानी पनि रहेको छ । फिल्ममा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सोल गुरुङ, राज थापा ‘काउचा’, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली लिम्बु, कुबिना गुरुङ, डिबी गुरुङ र प्रतिक्षा गुरुङलगायत कलाकारहरूको अभिनय रहेको छ ।

विश्वास गुरुङ र माया गुरुङले यसै फिल्ममार्फत नेपाली रजतपटमा डेब्यु गरेका छन् ।

माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् । शीर्षक हेर्दा भूतपूर्व लाहुरेको कथा जस्तो लागे पनि फिल्मले लोभी स्वभावको एक युवक कसरी उदार र दानी बन्छ भन्ने कथा प्रस्तुत गर्ने निर्देशक गुरुङको भनाइ छ ।

फिल्ममा मीन कोन्मे गुरुङ (बेलायत), भोजबहादुर गुरुङ (बेलायत), माया गुरुङ (हङकङ) र सपना गुरुङको लगानी रहेको छ । डिबी गुरुङ प्रोडक्सन म्यानेजर रहेको फिल्मको छायांकन सुशन प्रजापतिले गरेका हुन् ।

फिल्मका कास्टिङ निर्देशक सुरज तमु हुन् भने संगीतमा मनोज थापा मगर, शिव बराइली र सुरुङ गुरुङको योगदान रहेको छ । कियर कोइचले सम्पादन गरिरहेको फिल्मका मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने रहेका छन् ।

फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ ।

Leave a Reply