काठमाडौं । कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल अमेरिका बसाइँपछि नेपाल फर्किएका छन् । आइतबार बिहान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि फाइल बोकेर उभिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले न्यायको अपेक्षासहित मातृभूमि फर्किएको बताएका छन् ।
फेसबुकमार्फत उनले लेखेका छन्, “न्याय अवश्य मिल्नेछ भन्ने पूर्ण आशा र अटल विश्वास बोकेर आफ्नै मातृभूमिको आँगनमा फर्किएको छु । आशा छ, न्यायको अनुभूति गर्दै आफ्नै माटोको काखमा सुख–दुःख साटेर जीवनका घाउहरू निको पार्ने अवसर अवश्य प्राप्त हुनेछ ।”
ग्रीनकार्ड प्राप्त गरिसकेका धुर्मुस गत मंसिरमा अमेरिका गएका थिए । त्यतिबेला उनले सामाजिक सञ्जालमार्फत छोरीको उपचारका लागि अमेरिका जानुपरेको स्पष्ट पारेका थिए । उनकी पत्नी कुञ्जना घिमिरे र छोरी भने हाल अमेरिकामै रहेका छन् ।
धुर्मुसले त्यसबेला आफू अमेरिका ‘भागेर गएको’ भन्ने टिप्पणीको खण्डन गर्दै निरन्तरको सरकारी झमेला र १८ करोड रुपैयाँभन्दा बढीको आर्थिक दायित्वका कारण मानसिक दबाबमा परेको बताएका थिए । उनले छोरीको स्वास्थ्य उपचारलाई प्राथमिकता दिँदै अमेरिका जान बाध्य भएको उल्लेख गरेका थिए ।
धुर्मुस–सुन्तली फाउन्डेसनमार्फत सामाजिक काममा सक्रिय रहेका धुर्मुसको नेपाल फर्काइलाई सामाजिक सञ्जालमा धेरैले चासोका साथ हेरेका छन् ।
News Filmy Newsportal / Nepal