काठमाडौं । अभिनेता विपिन कार्कीले आफ्नै लगानीमा नयाँ कथानक फिल्म निर्माण गर्ने भएका छन् । फिल्मको निर्देशन तथा पटकथा लेखन वरिष्ठ पत्रकार तथा लेखक विजयकुमारले गर्नेछन् ।
हालसम्म नाम सार्वजनिक नगरिएको फिल्मबारे विपिनले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । उनले विजयकुमारसँगको तस्बिर सार्वजनिक गर्दै आगामी सहकार्यप्रति उत्साह व्यक्त गरेका छन् ।
विपिनले सामाजिक सञ्जालमा लेखेका छन्, “आजको भेट केवल एउटा भेटघाटमा सीमित रहेन, यसले आगामी दिनमा सँगै सिर्जना र सहकार्य गर्ने सम्भावनाप्रति अझ उत्साहित बनायो । भविष्यमा हामीले सँगै केही अर्थपूर्ण र स्मरणीय काम गर्ने योजनाले मनमा नयाँ ऊर्जा र उत्साह थपेको छ ।”
उनले विजयकुमारसँग सहकार्य गर्ने अवसरलाई आफ्नो सौभाग्यको रूपमा लिँदै आगामी यात्राप्रति उत्साहित रहेको उल्लेख गरेका छन् ।
विपिनको कम्पनी लाइट वेन्डर्स प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको अनुमानित बजेट ३ देखि ४ करोड रुपैयाँ रहने बताइएको छ । फिल्मको पटकथा लेखन आगामी सेप्टेम्बरसम्म सम्पन्न गर्ने तयारी गरिएको छ ।
फिल्मको मुख्य भूमिकामा स्वयं विपिन कार्की नै देखिनेछन् । अन्य कलाकारको चयन भने हुन बाँकी रहेको छ ।
फिल्मबारे जानकारी दिँदै विपिनले भने, “यो फिल्म जिन्दगीको बारेमा हो । जीवनबारेको दर्शन र एक व्यक्तिको जीवनयात्रामा आधारित कथावस्तु यसमा हुनेछ ।”
ड्रामा विधामा निर्माण हुने फिल्मको कथालाई पुस्तकका रूपमा पनि प्रकाशन गर्ने योजना रहेको छ । फिल्म प्रदर्शनपछि फाइनप्रिन्टले यस कथामाथि आधारित आख्यान संस्करण प्रकाशित गर्ने तयारी गरिएको विपिनले बताएका छन् ।
यतिबेला विपिन फिल्म निर्माणसँगै आफ्नो कम्पनीको व्यवस्थापनमा पनि व्यस्त छन् । लाइट वेन्डर्स प्रालिले प्राविधिक उपकरण तथा अन्य व्यवस्थापनसम्बन्धी सेवा पनि प्रदान गर्दै आएको छ ।
News Filmy Newsportal / Nepal