काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘रोल नं १’को राजधानीमा विशेष प्रदर्शनी (स्पेसल स्क्रिनिङ) गरिएको छ । सोमबार आयोजित विशेष प्रदर्शनीमा सहभागी कलाकार, चलचित्रकर्मी, हास्य कलाकार तथा राजनीतिज्ञहरूले फिल्मको खुलेर प्रशंसा गरेका छन् ।
प्रदर्शनीमा सहभागी अधिकांशले ‘रोल नं १’ विद्यार्थीभन्दा पनि अभिभावकले हेर्नैपर्ने फिल्म भएको प्रतिक्रिया दिएका छन् । उनीहरूका अनुसार फिल्मले बालबालिकामाथि थोपरिने पढाइको दबाब, अभिभावकको अपेक्षा र शिक्षासँगै सीपको महत्वलाई प्रभावकारी रूपमा उठान गरेको छ ।
हास्य कलाकार जितु नेपालले फिल्मको सन्देश र संवादको प्रशंसा गर्दै कक्षाकोठाको नम्बरले मात्र जीवनको सफलता निर्धारण नगर्ने विषयलाई फिल्मले सशक्त रूपमा प्रस्तुत गरेको बताए ।
कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले फिल्मलाई ‘पढ्नैपर्ने किताब’को संज्ञा दिँदै दुर्गम क्षेत्रको शिक्षा र बाबुको संघर्षले आफूलाई भावुक बनाएको बताए ।
अभिनेत्री लुनिभा तुलाधारले हरेक अभिभावकले आफ्ना छोराछोरीको रुचि र क्षमता बुझ्नका लागि यो फिल्म हेर्नुपर्ने बताइन् । अभिनेत्री सञ्चिता लुइँटेलले फिल्मको लेखन र प्रस्तुतिको प्रशंसा गर्दै शिक्षालाई केवल किताबी ज्ञानमा सीमित नराखी सीपसँग जोडेको विषय सान्दर्भिक रहेको उल्लेख गरिन् ।
अभिनेता हरिहर अधिकारीले फिल्मलाई ‘ब्युटिफुल’ भन्दै यसले आफ्नै विद्यालय जीवनको सम्झना गराएको बताए भने अभिनेत्री नीता ढुंगानाले बालबालिकामाथि पर्ने शैक्षिक दबाबलाई फिल्मले यथार्थपरक ढंगले चित्रण गरेको प्रतिक्रिया दिइन् ।
विशेष प्रदर्शनीमा सहभागीहरूको साझा निष्कर्ष थियो—किताबी ज्ञानभन्दा सीप र रुचिको पहिचान महत्वपूर्ण हुन्छ । उनीहरूले फिल्मलाई शैक्षिक चेतना फैलाउने प्रभावकारी माध्यमका रूपमा व्याख्या गरेका छन् ।
जोन योञ्जन निर्देशित फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु नाथ योगी, एवनराज उप्रेती र सिर्जना अधिकारीको मुख्य भूमिका छ । बाल कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठको अभिनय रहेको छ ।
विनोद पौडेल र जान्वी पौडेल निर्मित फिल्मको कथा महेश दवाडीले लेखेका हुन् । फिल्म हाल देशभर प्रदर्शन भइरहेको छ ।
News Filmy Newsportal / Nepal