काठमाडौं । गत वर्षको ब्लकबस्टर फिल्म ‘आ बाट आमा’को सिक्वेल ‘आ बाट आमा २’को छायांकन सुरु भएको छ । सोमबार बिहान मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङबाट फिल्मको शुभमुहूर्तसहित छायांकन थालिएको हो ।
फिल्मको पहिलो सट अभिनेता पल शाहले दिएका छन् । उनी पहिलो भागमा जस्तै यसपटक पनि मुख्य भूमिकामा देखिँदैछन् ।
निर्देशक चन्द्र पन्तका अनुसार चित्लाङमा प्रारम्भिक छायांकन सम्पन्न गरेपछि निर्माण टिम काठमाडौंमा खटिनेछ । त्यसपछि बाँकी छायांकन बेलायतको लन्डनमा गरिने योजना रहेको छ । कलाकार तथा प्राविधिक टोलीको भिसा प्रक्रियासमेत पूरा भइसकेको उनले जानकारी दिए ।
निर्देशक पन्तले कथाको आवश्यकताअनुसार लन्डनमा फिल्मका केही महत्त्वपूर्ण दृश्यहरू छायांकन गरिने बताए । फिल्मको कथा तथा पटकथा पनि उनले नै तयार पारेका हुन्।
फिल्ममा पल शाहसँगै विपना थापा, प्रदीप रावत, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलीप ओखेडालगायत कलाकारहरूको अभिनय रहनेछ । ‘मेरो डान्स युनिभर्स–२’की विजेता रिश्ता गुरुङले यही फिल्मबाट अभिनय यात्रा सुरु गर्दैछिन् ।
आर्या इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्म दशैंको अवसर पारेर असोज ३० गतेदेखि प्रदर्शनमा आउने तय भइसकेको छ ।
करण सिंह प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्माताको रूपमा रहेका फिल्मले आमा र छोराबीचको भावनात्मक सम्बन्धलाई मुख्य विषय बनाएको छ । फिल्मको स्लोगन ‘दशैंको जमरा र आमाको पर्खाइको कथा’ राखिएको छ ।
News Filmy Newsportal / Nepal