काठमाडौं । अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंहको मुख्य भूमिका रहेको फिल्म ‘सारथी’को गुर्जा खानी सेड्युलको छायांकन सम्पन्न भएको छ । गत वैशाख १५ गतेबाट सुरु भएको छायांकनको एक महिनाभित्र गुर्जा खानी क्षेत्रका सम्पूर्ण दृश्यहरूको छायांकन सकिएको निर्माण टिमले जनाएको छ ।
निर्देशक कुमार गजुरेलका अनुसार अब फिल्मको काठमाडौंमा एक दिनको छायांकन मात्र बाँकी छ । उक्त छायांकन पनि केही दिनमै सम्पन्न गरेर पोस्ट–प्रोडक्सनको काम सुरु गरिने उनले बताए । पोस्ट–प्रोडक्सन सम्पन्न भएपछि फिल्मको प्रदर्शन मिति घोषणा गरिने निर्देशक गजुरेलले जानकारी दिए ।
म्याग्दीको दुर्गम तर प्राकृतिक सौन्दर्यले भरिपूर्ण गुर्जा क्षेत्रमा छायांकन सम्पन्न गरी निर्माण टिम काठमाडौं फर्किएको छ । निर्माण पक्षका अनुसार छायांकन अनुभवले टिम उत्साहित बनेको छ ।
फिल्मको प्रमुख आकर्षणका रूपमा करिब दुई दशकपछि वरिष्ठ कलाकार उत्तम प्रधान र निरुता सिंहको पुनर्मिलन रहेको छ । लामो समयपछि पुनः एकसाथ पर्दामा देखिन लागेका यी दुई कलाकारको कमब्याकलाई दर्शक र फिल्मवृत्तले चासोका साथ हेरिरहेका छन् ।
सामाजिक कथावस्तुमा आधारित फिल्मले गुर्जाको मौलिक संस्कृति, परम्परागत जीवनशैली, ढुंगा–माटोले बनेका घरहरू, छन्त्याल तथा दलित समुदायको जनजीवन र गुर्जा–चुरेन हिमालको मनमोहक दृश्यलाई पर्दामा उतारेको छ । निर्देशक गजुरेलका अनुसार फिल्मले गुर्जा क्षेत्रको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्नेछ।
फिल्ममा उत्तम प्रधान र निरुता सिंहसँगै मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, सम्रान्त थापा, मिलन खड्का, रश्मि गुरुङ, कल्पना थापा, आशा विश्वकर्मा, सन्तोष दाहाल, विप्लव खड्का, सागर कँडेल र धिरेन मोक्तानलगायत कलाकारहरूको अभिनय रहेको छ।
किम्भे प्रोडक्सन र धीरज इन्फिनिटी फिल्म्सको सहकार्यमा निर्माण भइरहेको फिल्मका निर्माता तारा थापा ‘किम्भे’ र सौर्यल थापा हुन् । धीरज तामाङ र बेकबहादुर विश्वकर्मा सह–निर्माता, प्रदीप रायमाझी र रदिप श्रेष्ठ कार्यकारी निर्माता तथा अमीर केसी लाइन प्रोड्युसर रहेका छन् ।
फिल्मको छायांकन संकल्प भुजेलले गरेका हुन् ।
News Filmy Newsportal / Nepal