काठमाडौं । अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ‘आइ एम जितबहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरले गाउँबाट सहर आएर कलाकार बन्न संघर्ष गर्ने एक युवाको कथा प्रस्तुत गरेको छ ।
सुभेन्दु घोषको निर्देशनमा बनेको फिल्मको ट्रेलरमा जितु नेपाल फरक भूमिकामा देखिएका छन् । हास्य कलाकारको रूपमा परिचित उनले यस फिल्ममार्फत भावनात्मक र संघर्षशील पात्र प्रस्तुत गरेका छन् । ट्रेलरमा सपना पूरा गर्न गाउँबाट काठमाडौं आएको पात्रले भोग्नुपरेका चुनौती, संघर्ष र सम्बन्धका उतारचढावलाई देखाइएको छ ।
फिल्ममा जितु नेपालसँगै वर्षा राउत, प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, पवन खतिवडा, सहारा शर्मा लगायत कलाकारहरूको अभिनय रहेको छ । ट्रेलरमा हास्य, भावुकता र सामाजिक यथार्थलाई मिश्रण गरिएको देखिन्छ।
कर्मभूमि क्रिएसनको ब्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल हुन् भने राजन सिंखडा र दीपेन्द्र अधिकारी सह–निर्माताका रूपमा रहेका छन् । भारतीय सिनेमाटोग्राफर अरविन्दले फिल्मको छायांकन गरेका हुन् भने पोस्ट–प्रोडक्सनको काम भारतमै सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ ।
फिल्म आगामी असार ५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ । ट्रेलर सार्वजनिक भएसँगै दर्शकमाझ फिल्मप्रति उत्सुकता बढेको देखिन्छ ।
News Filmy Newsportal / Nepal