वास्तविक जीवनको कथामा आधारित फिल्म ‘हली’ साउन २२ गतेदेखि प्रदर्शनमा आउने

काठमाडौं । निर्देशक ओम प्रतीकको निर्देशनमा निर्माण भएको नयाँ नेपाली फिल्म ‘हली’ आगामी साउन २२ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले शुक्रबार फिल्मका दुईवटा आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

सार्वजनिक पोस्टरमध्ये एकमा फिल्मका मुख्य कलाकारहरू रिसाहा र तनावपूर्ण भावमा देखिएका छन् । पोस्टरमा ओम प्रतीक, सरोज खनाल, प्रमोद दीप र सुजता थापा आक्रोशित मुद्रामा प्रस्तुत छन् । उनीहरूबीचको सम्बन्धमा आएको खटपट र त्यसपछिको अवस्थालाई पोस्टरले संकेत गरेको छ ।

उनीहरूका पछाडि घरको दैलोमा भित्र र बाहिर दुई महिला थाल बोकेर बसेको दृश्य पनि देखाइएको छ । जुठो भाँडा हातमा बोकेको दृश्यले महिलाले भोग्नुपरेको पीडा र सामाजिक विभेदलाई संकेत गरेको अनुमान गर्न सकिन्छ । फिल्मको विस्तृत कथावस्तु भने टिजर र ट्रेलर सार्वजनिक भएपछि थप स्पष्ट हुने अपेक्षा गरिएको छ ।

जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायु फिल्मस्को सहकार्यमा निर्माण भएको यस फिल्मको कथा वास्तविक जीवनका घटनाबाट प्रेरित रहेको निर्माण पक्षले जनाएको छ । समाज तथा देशमा परिवर्तन ल्याउन एक जना ‘हली’ नै पर्याप्त हुन्छ भन्ने सन्देश फिल्मले दिने बताइएको छ ।
यसअघि व्यावसायिक रूपमा सफल फिल्म ‘मोहर’ निर्देशन गरिसकेका ओम प्रतीकले ‘हली’को कथा पनि स्वयं लेखेका हुन् । फिल्मप्रति उनी निकै विश्वस्त देखिएका छन् ।

व्यवसायीद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानी रहेको फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीलगायत कलाकारहरूको अभिनय रहेको छ । निर्देशक ओम प्रतीक स्वयं पनि फिल्ममा मुख्य भूमिकामा देखिएका छन् ।

फिल्मको विशेष आकर्षणका रूपमा एउटा प्रमोशनल गीत समावेश गरिएको छ । उक्त गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माले विशेष नृत्य प्रस्तुति दिएका छन् । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । अन्य गीतहरूमा ओम प्रतीक र कविराज गहतराजको संयुक्त कोरियोग्राफी रहेको छ ।

फिल्मका कार्यकारी निर्माता अर्जुन भुसाल हुन् भने नम्रता भण्डारी सह–निर्मात्रीका रूपमा रहेकी छन् । लक्ष्मण बज्राचार्य लाइन प्रोड्यूसर तथा जीवननाथ गौतम मुख्य सहायक निर्देशक रहेका छन् ।

राहुल राईको छायांकन रहेको फिल्मको सम्पादन रामप्रसाद चौधरी र विपिन मल्लले गरेका छन् । फिल्ममा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ । जश्मिन श्रेष्ठको शब्द तथा बाबुल गिरीको संगीत रहेको गीतमा बाबुल गिरी र शान्ति श्री परियारको स्वर सुन्न सकिन्छ ।
कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मलाई नेशनल सिने ग्रुप प्रालिले वितरण गर्नेछ भने डिजिटल पार्टनरका रूपमा ओएसआर डिजिटल रहेको छ ।

Leave a Reply