‘जिरो डिग्री’को टिजरमा विजय बराललाई ‘नेचुरल स्टार’को ट्याग

काठमाडौं । अभिनेता विजय बराललाई आगामी फिल्म ‘जिरो डिग्री’मा ‘नेचुरल स्टार’को ट्याग दिइएको छ । बिहीबार सार्वजनिक गरिएको फिल्मको टिजरमा उनलाई उक्त उपाधिसहित प्रस्तुत गरिएको देख्न सकिन्छ ।

फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को सफलतापछि विजयलाई दर्शक तथा फिल्मकर्मीहरूले ‘नेचुरल स्टार’ भन्न थालेका थिए । अब भने सो उपाधि औपचारिक रूपमा फिल्मको प्रचार सामग्रीमै प्रयोग गरिएको हो ।

टिजरमा विजय वडा अध्यक्ष पुन्य चौलागाईँको भूमिकामा देखिएका छन् । गाउँका चलाख र चतुर जनप्रतिनिधिको भूमिकामा देखिएका उनले हास्यव्यङ्ग्य शैलीमा समाजको यथार्थ चित्रण गर्ने संकेत दिएका छन् ।

एक दृश्यमा उनी कार्यालयभित्र घुस लिइरहेको अवस्थामा देखिन्छन् भने अर्को दृश्यमा पिठ्यूँमा दुईवटा पंखा बाँधेर घोडामा सवार छन् । उनको गेटअप र हाउभाउले पात्रलाई थप रोचक बनाएको छ ।

टिजरमा दुर्गम गाउँको पीडादायी अवस्था पनि देखाइएको छ । केही मानिसहरू ठूलो काठको बाकस वरिपरि थकित मुद्रामा देखिन्छन् भने विजय घोडामा सवार छन् । सडक अभावका कारण पहाडी भेगका नागरिकले भोग्नुपरेको सास्ती र हुनेखाने वर्गको रवाफलाई फिल्मले व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्ने अनुमान गर्न सकिन्छ ।

‘बेहुली फ्रम मेघौली’का निर्देशकद्वय साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशनमा बनेको फिल्ममा विजय बरालसँगै सनिशा भट्टराई, प्रकाश घिमिरे, बसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक र राजन भुसाललगायत कलाकारहरूको अभिनय रहेको छ ।

मेघौली फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्ममा निशाल पौडेलको छायांकन, चानस पुन मगरको सम्पादन, शैलेस श्रेष्ठको साउन्ड डिजाइन, राजेन्द्र मोक्तानको रङ संयोजन तथा अङ्कित बाबु अधिकारीको संगीत रहेको छ । फिल्म तिहारको अवसरमा प्रदर्शन गर्ने तयारी गरिएको छ ।

Leave a Reply