‘गौँथली’को टिजर सार्वजनिक : वैवाहिक पीडा र आमाको संघर्षको भावुक कथा

काठमाडौं । फिल्म ‘गौँथली’को टिजर सार्वजनिक भएको छ । मुख्य पात्रको कथा समेट्दै सार्वजनिक गरिएको टिजरले फिल्मको कथावस्तु उजागर गरेको छ । आमाले छोरीको घर बसाउन गरेको प्रयास र छोरीले वैवाहिक जीवनमा भोग्नुपरेका पीडा टिजरमा प्रस्तुत गरिएको छ ।

श्रीमान्को फरक व्यवहारबाट आजित भएकी श्रीमतीले घरमा सहनुपरेको कहर र छोरीको सुखी परिवारको चाहनामा आमाले गरेको संघर्षलाई टिजरले मार्मिक ढंगले चित्रण गरेको छ । पढ्ने रहर हुँदाहुँदै भएको विवाह, सोझो र इमान्दार ठानेको श्रीमान् नै गलत सावित भएपछि सिर्जिएको अवस्था तथा जन्म दिने आमाको काख छोडेर कर्म दिने आमाको घर पुगेकी बुहारीले भोग्नुपरेको पीडाले दर्शकको ध्यान तान्छ ।

जीवनमा एउटा सोचेर गरिएको निर्णय विपरीत हुँदा जिन्दगी कसरी तहसनहस हुन सक्छ भन्ने सन्देश टिजरले दिएको छ । छोरीका लागि आमाको काख कति न्यानो हुन्छ र बुहारीका लागि सासु कति कठोर बन्न सक्छिन् भन्ने पक्ष पनि टिजरमा देखाइएको छ । सोचेभन्दा विपरीत स्वभावको श्रीमान् पाएपछि श्रीमतीले भोग्नुपरेका दुःख र संघर्षलाई टिजरले भावुक ढंगले प्रस्तुत गरेको छ ।

फिल्ममा श्रीमान्को भूमिकामा अरुण क्षेत्री र श्रीमतीको भूमिकामा सिम्रन खड्का रहेका छन् । असामान्य स्वभावका पात्रमा देखिएका अरुण र कलिलो उमेरमै विवाह गरेकी सिम्रनको कथाले दर्शकलाई भावुक बनाउने देखिन्छ । फिल्म साउन १ गतेदेखि प्रदर्शनमा आउनेछ ।

डा. कपिल रिजालको निर्देशन रहेको फिल्ममा अरुण क्षेत्री र सिम्रन खड्कासँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।

डा. भोला रिजालको कथामा निर्माण भएको फिल्मको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेको सहकार्य रहेको छ । निर्माण पक्षका अनुसार ‘गौँथली’ले घर, परिवार र आपसी सामीप्यताको प्रतीकात्मक अर्थ बोकेको छ ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् । निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा रहेका छन् ।
फिल्ममा शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको छ । एलिस कार्कीको पाश्र्व संगीत रहेको फिल्मलाई हरि हुमागाईंले छायांकन गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् ।

गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको फिल्ममा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक छन् । मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन तथा रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ ।

फिल्मलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्नेछन् । डिजिटल पार्टनरका रूपमा ‘ओएसआर डिजिटल’ रहेको छ ।

उल्लेखनीय रूपमा, ‘गौँथली’ नाममा डा. भोला रिजालले दुई दशकअघि पनि फिल्म निर्माण गरेका थिए । उक्त फिल्मलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ । सो फिल्मले प्रदर्शनको ५१औँ दिन मनाएको थियो ।

यसपटक सोही नाममा डा. भोला रिजालका छोरा तथा निर्देशक डा. कपिल रिजालले नयाँ फिल्म ‘गौँथली’ निर्देशन गरेका हुन् ।

Leave a Reply