काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटी फिल्म ‘गंगा रानी’मा अनुबन्धित भएकी छन् । निर्माण टिमले वर्षालाई औपचारिक स्वागत गर्दै फिल्मको नयाँ पोस्टर सार्वजनिक गरेको हो ।
सार्वजनिक पोस्टरमा रातो पहिरनमा देखिएकी वर्षा आत्मविश्वासी र आकर्षक अवतारमा प्रस्तुत भएकी छन् । उनको हेराइ र अभिव्यक्तिले फिल्मभित्र प्रेम, रहस्य र संघर्षको संकेत गरेको देखिन्छ । पोस्टरमा एक युवकको कालो छायाँ पनि देखाइएको छ, जसले कथामा कुनै गहिरो रहस्य वा भावनात्मक सम्बन्ध रहेको अनुमान गर्न सकिन्छ ।
पृष्ठभूमिमा पुराना घर र बस्तीको परिवेश देखाइएको छ । सुनौलो तथा मधुरो प्रकाशको प्रयोगले पोस्टरलाई भावनात्मक र रहस्यमय बनाएको छ ।
निर्देशक राजबहादुर सानेका अनुसार फिल्मको छायांकन भदौ दोस्रो सातादेखि सुरु गरिनेछ । आहा फिल्म्सको प्रस्तुतिमा बन्ने फिल्मका निर्माता कमलप्रसाद शर्मा हुन् । फिल्मको लेखन तथा निर्देशन साने स्वयंले गर्नेछन् ।
यससँगै निर्माण टिमले कास्टिङ कलको घोषणा पनि गरेको छ । निर्माण पक्षले मुख्य पात्रका लागि ४ महिला र ४ पुरुष कलाकार माग गरेको जनाएको छ ।
पोस्टरअनुसार २० देखि ४० वर्ष उमेर समूहका पुरुष र १८ देखि ३५ वर्ष उमेर समूहका महिलाले आवेदन दिन सक्नेछन् । इच्छुक कलाकारले आफ्नो परिचय भिडियो वा पोर्टफोलियोसहित इमेलमार्फत आवेदन पठाउन सक्ने निर्माण टिमले जनाएको छ । आवेदन दिने अवधि जेठ २० गतेसम्म रहनेछ ।
निर्देशक सानेले यसअघि ‘पाठशाला’, ‘द रिटर्न हिरो’, ‘लाटी’, ‘वृन्दावन’, ‘बिरंगना’, ‘डोली’, ‘गुड फ्रेण्ड’, ‘सिल्ली फो’, ‘बुलाकी’, ‘जुना’ र ‘सिटामोल’ लगायत फिल्म निर्देशन गरिसकेका छन् । ‘बुलाकी’बाट उनले उत्कृष्ट पटकथातर्फ राष्ट्रिय पुरस्कार समेत जितेका थिए ।
News Filmy Newsportal / Nepal