असारे भाकासहित सार्वजनिक भयो फिल्म ‘काजी’को ‘ज्यानको तिर्खा’ गीत

काठमाडौं। गत जेठ ८ गतेबाट देशव्यापी प्रदर्शनरत फिल्म ‘काजी’को असारे गीत सार्वजनिक गरिएको छ । प्रशान्त सिवाकोटीको शब्द तथा संगीत निर्देशनमा तयार पारिएको असारे भाका ‘ज्यानको तिर्खा’मा रचना रिमाल र संगीतकार सिवाकोटीको स्वर सुन्न सकिन्छ ।

 

सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा, संदीप बाबु लोहनी लगायतका कलाकारलाई देख्न सकिन्छ । रोपाइँको सेटअपमा तयार पारिएको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी हेर्न सकिन्छ । गीतको अडियो तथा दृश्य संयोजन आकर्षक बनेको छ ।

 

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘काजी’ले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेका बेला अभिनेता विपिन कार्की प्रचारप्रसारमा सक्रिय देखिएका छन् । उनी विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् । हलमा भेट्ने धेरै दर्शकले ‘काजी २’को माग गरिरहँदा उनी उत्साहित हुँदै दर्शकको माया र साथ रहे सिक्वेल बन्न सक्ने प्रतिक्रिया दिने गरेका छन् ।

 

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म राम प्रसाद रिजालको प्रस्तुतिमा बनेको हो । ग्रामीण परिवेश, भावनात्मक कथा र सम्बन्धको संवेदनशील पक्षलाई फिल्मले पर्दामा उतारेको निर्माण टिमको दाबी छ । फिल्मका निर्देशक लक्ष्मण रिजाल हुन् ।

 

असिम काफ्ले कार्यकारी निर्माता रहेको फिल्ममा चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, श्याम कुँवरको रंग संयोजन, सागर अर्यालको साउण्ड डिजाइन, सुजिल कर्माचार्यको पार्श्व संगीत, प्रकाश हमालको प्रोडक्सन हेड, विपीन मल्लको सम्पादन तथा बनिश शाहको सुपरभाइजर सम्पादन रहेको छ ।

 

प्रदीप भारद्वाजको कथा लेखन रहेको फिल्मका निर्मातामा नेहान रिजाल र विकासराज जोशी रहेका छन् ।

Leave a Reply