चलचित्र पत्रकारिता दिवस मनाइयो, सम्मान तथा पुरस्कार प्रदान गर्दै २७औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं। चलचित्र पत्रकार संघ नेपालको आयोजनामा २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस भव्यता र गरिमाका साथ सम्पन्न भएको छ। कार्यक्रममा चलचित्र क्षेत्रका कलाकार, पत्रकार, निर्माता, निर्देशक तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। पञ्चेबाजासहित अतिथि तथा सम्मानित व्यक्तित्वहरूको स्वागत गरिएको कार्यक्रममा सांस्कृतिक तथा सांगीतिक प्रस्तुतीले विशेष रौनक थपेको थियो।

कार्यक्रमका अध्यक्ष समीर बलामीले चलचित्र पत्रकारितालाई अझ संगठित, मर्यादित र जिम्मेवार बनाउँदै लैजानुपर्नेमा जोड दिँदै संघलाई थप सशक्त र क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रमुख अतिथि दिनेश डीसीले नेपाली चलचित्र पत्रकारिता क्रमशः संगठित हुँदै गएको भन्दै चलचित्र प्रवर्द्धनमा पत्रकारिताको भूमिका अतुलनीय रहेको बताउनुभयो। उहाँले पत्रकारितामा अनुशासन, मर्यादा र नैतिक पक्षलाई अझ बलियो बनाउन आवश्यक रहेको उल्लेख गर्दै आधारहीन विषयलाई प्राथमिकता दिने प्रवृत्तिबाट जोगिन आग्रह गर्नुभयो।

विशेष अतिथि अभिनेत्री करिष्मा मानन्धरले चलचित्र र पत्रकारिता क्षेत्र एकअर्काका परिपूरक भएको उल्लेख गर्दै चलचित्रलाई दर्शकमाझ पुर्‍याउने प्रमुख माध्यम पत्रकारिता रहेको र कलाकार–पत्रकारबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने धारणा राख्नुभयो।

महानायक राजेश हमालले चलचित्र र पत्रकारिता क्षेत्रबीच गहिरो सम्बन्ध रहेको बताउँदै समयसँगै दुवै क्षेत्रले उल्लेखनीय विकास गरेको बताउनुभयो। उहाँले वर्तमान ‘क्लिक कल्चर’ र प्रविधिका चुनौतीबीच तथ्यपरक, जिम्मेवार र गम्भीर पत्रकारिताको आवश्यकता झन् बढेको उल्लेख गर्नुभयो।

यस अवसरमा चलचित्र पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान–२०८३ अन्तर्गत रु. ५५ हजार ५ सय ५५ राशिसहित अनन्त वाग्लेलाई सम्मान गरिएको थियो। राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान–२०८३ जयन सुब्बा मानन्धर तथा कुबेरराज गिरीलाई प्रदान गरिएको थियो।

त्यसैगरी, राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८३ अन्तर्गत रु. ५१ हजार राशिसहित वैकुण्ठराज पराजुलीलाई पुरस्कृत गरिएको थियो भने स्वर्गीय दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८३ अन्तर्गत रु. ५१ हजार राशिसहित सुरक्षा भट्टराईलाई सम्मान गरिएको थियो। राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन सम्मान–२०८३ अन्तर्गत रु. २५ हजार राशिसहित मिलन ढुंगानालाई सम्मान गरिएको थियो। साथै, स्वर्गीय दिनेश सिटौलाप्रति राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान अर्पण गरिएको थियो।

कार्यक्रममा संस्थापक अध्यक्ष भरत शाक्यसहित संस्थापकहरूप्रति सम्मान तथा स्मरण व्यक्त गरिएको थियो भने निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। समग्रमा, चलचित्र पत्रकारिता दिवस चलचित्र पत्रकारिता, सम्मान र सहकार्यलाई थप सुदृढ बनाउने साझा मञ्चका रूपमा सम्पन्न भएको सहभागीहरूले बताएका छन्।

Leave a Reply