काठमाडौं । नेपाली फिल्म क्षेत्रमा अनुभवी निर्देशक निर शाहले नयाँ फिल्म ‘कमला मिस’मार्फत निर्देशनमा पुनरागमन गरेका छन् । साउन २२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको फस्टलुक पोस्टर सार्वजनिक भएसँगै दर्शकमाझ उत्सुकता बढेको छ ।
सार्वजनिक पोस्टरमा मुख्य अभिनेत्री बासना तिमिल्सिनालाई विशेष मनोवैज्ञानिक भावभंगिमामा प्रस्तुत गरिएको छ । पोस्टरले फिल्मको कथा गहिरो, रहस्यमय र संवेदनशील हुने संकेत गरेको छ । निर्माणपक्षले फिल्मको आधिकारिक टिजर यही बिहीबार सार्वजनिक गर्ने जनाएको छ ।
मनोवैज्ञानिक कथामा आधारित फिल्ममा निर्देशक निर शाह स्वयंको अभिनय रहेको छ । साथै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र संजय खतिवडालगायत कलाकारको अभिनय रहेको छ ।
विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान हुन् । विजय मल्लको कथामा आधारित फिल्मको पटकथा तथा संवाद निर शाह र प्रजल दुलालले संयुक्त रूपमा तयार पारेका हुन् ।
फिल्ममा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । निर्माण व्यवस्थापन भोला सुवेदीले सम्हालेका छन् भने मुख्य सहायक निर्देशक सगर बोहरा रहेका छन् ।
करिब एक दशकपछि निर्देशनमा फर्किएका निर शाहले यसअघि ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका छन् । त्यसैले ‘कमला मिस’लाई उनको अनुभव र सिर्जनशीलताको नयाँ अध्यायका रूपमा हेरिएको छ ।
एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्ने फिल्मले नेपाली दर्शकमाझ फरक स्वादको मनोवैज्ञानिक कथा प्रस्तुत गर्ने निर्माणपक्षको विश्वास छ ।
News Filmy Newsportal / Nepal