अशोक थापा मगर निर्देशित ‘जलाकी’को छायांकन सम्पन्न

काठमाडौं । निर्देशक अशोक थापा मगरको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘जलाकी’को इन्डक्ल्याप गरिएको छ । गत शनिबार पोखरा इन्टरनेशनल म्युजियममा अन्तिम दृश्य छायांकन गर्दै फिल्मको ३९ दिने छायांकन सम्पन्न भएको निर्माण टिमले जनाएको छ ।

 

शनिबार पोखरामै गीतको दृश्य खिचिएको थियो, जहाँ फिल्मका मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ । छायांकन सकिएसँगै पोस्ट–प्रोडक्सनको काम सुरु गरिएको निर्देशक अशोकले बताएका छन् । निर्माण टिमले केही दिनमै फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गर्ने तयारी गरेको छ ।

 

फिल्मको मुख्य भूमिकामा अभिनेत्री उपासना सिंह ठकुरी छिन् । निर्देशक अशोकसँग उनले ‘खुस्मा’पछि दोस्रोपटक सहकार्य गरेकी हुन् । ‘खुस्मा’बाट उनले उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय चलचित्र पुरस्कारसमेत प्राप्त गरेकी थिइन् । ‘जलाकी’लाई लिएर पनि उपासना उत्साहित देखिएकी छन् ।

 

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा उपासनासँगै सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धिमान तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बु, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, भावना मगर र राज काउचामगरको अभिनय रहेको छ । विशेष भूमिकामा क्याप्टेन विजय लामा देखिनेछन् भने बाल कलाकारका रूपमा मुन्जन थापा मगर, नुलुम्मा वान्तवा राई र रिन्ची धनहा मगर रहेका छन् ।

 

यस फिल्ममार्फत मिस सिक्किम साहारा हाङमा लिम्बुले नेपाली रजतपटमा डेब्यु गरेकी हुन् ।

 

‘जलाकी’ मगर समुदायको आस्थासँग जोडिएको प्रतीकात्मक शब्द हो । कसैको सम्झना र मायाको प्रतीकका रूपमा बनाइने ढुंगाको स्तम्भलाई ‘जलाकी’ भनिन्छ । सोही भावनात्मक कथामा आधारित भएर फिल्म निर्माण गरिएको हो ।

 

फिल्मको छायांकन तीन चरणमा गरिएको निर्माण टिमले जनाएको छ । रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ र पोखराका विभिन्न स्थानमा छायांकन गरिएको फिल्मले मगर र गुरुङ समुदायको संस्कृति झल्काउने बताइएको छ ।

 

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाहा मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।

 

फिल्मको डिओपी शैलेन्द्र डी कार्की हुन् भने लाइन प्रोड्युसरमा राजु रेग्मी मगर रहेका छन् । मुख्य सहायक निर्देशकमा महेश बराल छन् । फिल्ममा एसडी योगी र सरित राईको संगीत तथा सुरेन्द्र राना, हर्क साउद र राम अविरल विष्टको गीत रचना रहेको छ ।

 

निर्देशक अशोक थापा मगरको डेब्यु निर्देशकीय फिल्म ‘खुस्मा’मा समावेश गीत ‘रुकुम मैकोट’ले युट्युबमा पाँच महिनामै १० करोड भ्युज प्राप्त गर्दै ऐतिहासिक रेकर्ड बनाएको थियो । ‘खुस्मा’ बक्स अफिसमा सफल भएकाले निर्माण टिम ‘जलाकी’लाई लिएर पनि उत्साहित देखिएको छ ।

Leave a Reply