ग्रामीण कथामा बनेको ‘गौँथली’को पोस्टर सार्वजनिक

काठमाडौं । फिल्म ‘गौँथली’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माणपक्षले शुक्रबार फिल्मका दुई पोस्टर सार्वजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा फिल्मका दुई मुख्य पात्रलाई केन्द्रमा राखिएको छ । एउटा पोस्टरमा नायक अरुण क्षेत्री र नायिका सिम्रन खड्का दुलाहा–दुलहीको भेषमा देखिएका छन् भने अर्को पोस्टरमा सिम्रन एक्लै फिचर्ड छिन् ।

पहिलो पोस्टरले ग्रामीण परिवेशको कथा प्रस्तुत गर्ने संकेत गरेको छ । दौरासुरुवाल, कोट, ढाका टोपी र दुबोको मालामा देखिएका अरुणको पटुकीमा गुलेली सिउरिएको छ । उनका हातका औँलाको असामान्य अवस्थाले पात्र शारीरिक रूपमा केही समस्या भएको संकेत गर्छ ।

पोस्टरमा अरुणको अनुहारमा उत्साह देखिए पनि बेहुलीको भेषमा रहेकी सिम्रनको मुहारमा तनाव झल्किएको छ । पृष्ठभूमिमा देखिएको गाउँघर र खरले छाएको झुपडीले उनीहरू गरिब ग्रामीण परिवारका पात्र रहेको संकेत गर्छ ।

अर्को पोस्टरमा सिम्रन डोकोमा स्याउला बोकेर हिँडिरहेकी छन् । खाली खुट्टामा देखिएकी उनी काम गर्दै पढिरहेको अवस्थामा प्रस्तुत गरिएको छ । पोस्टरले विवाहपछि पनि पढाइप्रतिको उनको चाहना र संघर्षलाई चित्रण गरेको बुझिन्छ । पृष्ठभूमिमा देखिएको हिमालले कथा उच्च पहाडी भूगोलमा आधारित रहेको संकेत गर्छ ।

सार्वजनिक दुवै पोस्टरले पहाडमा बस्ने गरिब परिवारको जीवन, संघर्ष र सम्बन्धको कथा फिल्मले उठाउने संकेत गरेका छन् ।

फिल्म ‘गौँथली’ साउन १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । डा. कपिल रिजालको निर्देशन रहेको फिल्ममा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन् ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली देखिएका छन् ।

डा. भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्।

निर्माणपक्षका अनुसार ‘गौँथली’ शब्दले घर, परिवार र आपसी सामीप्यताको प्रतीकात्मक अर्थ बोकेको छ ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् । सुमन गिरी र डा. कपिल रिजाल निर्माता रहेको फिल्ममा इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा रहेका छन् ।

फिल्ममा शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त शिवाकोटीको संगीत रहेको छ भने एलिस कार्कीले पार्श्व संगीत दिएका छन् ।

हरि हुमागाईंले छायांकन गरेको फिल्मको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् । गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको फिल्ममा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक छन् । मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन तथा रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ ।

फिल्मलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।

उल्लेखनीय रूपमा, ‘गौँथली’ नाममा डा. भोला रिजालले दुई दशकअघि पनि फिल्म निर्माण गरेका थिए । उक्त फिल्मलाई नेपालको पहिलो ‘गीति फिल्म’का रूपमा चिनिन्छ । अहिले सोही नाममा उनका छोरा तथा निर्देशक डा. कपिल रिजालले नयाँ फिल्म निर्देशन गरिरहेका हुन् ।

Leave a Reply