नीता ढुंगानाको डेब्यु निर्देशकीय फिल्म ‘पार्वती’को पहिलो झलक सार्वजनिक

काठमाडौं । अभिनेत्री नीता ढुंगानाले आफ्नो डेब्यु निर्देशकीय फिल्म ‘पार्वती’को पहिलो झलक सार्वजनिक गरेकी छन् । निर्माणपक्षले शुक्रबार एक कार्यक्रम गर्दै फिल्मका दुई पोस्टर सार्वजनिक गरेको हो ।

सार्वजनिक पोस्टरहरूले दर्शकमाझ ठूलो कौतुहलता पैदा गरेका छन् । पोस्टरमा नीतालाई फरक र चुनौतीपूर्ण चरित्रमा प्रस्तुत गरिएको छ । एक पोस्टरमा उनी स्कुले छात्राको पोसाकमा देखिएकी छन् । छोटो कपाल, घाँटीमा कालो धागो र नीलो पिनाफोरमा देखिएकी उनी सामान्य विद्यार्थीभन्दा फरक पात्रको रूपमा प्रस्तुत भएकी छन् ।

सामान्यतया नेपाली फिल्मका नायिकाहरू ग्ल्यामर अवतारमा देखिने भए पनि नीताले यस फिल्ममा ‘डी–ग्लाम’ लुक्स अपनाएकी छन् । पोस्टरमा उनको हेराइ र मुस्कानले पात्र ‘पार्वती’ कुनै विशेष मानसिक वा सामाजिक अवस्थाबाट गुज्रिरहेको संकेत गर्छ ।

अर्को पोस्टरमा बालगायक तथा कलाकार अशोक दर्जीले नीतालाई पिठ्युँमा बोकेको देखिन्छ । पोस्टरले दुवै पात्रबीचको भावनात्मक सम्बन्धलाई संकेत गरेको छ । उमेरले सानो भए पनि अशोकको पात्रले नीताको पात्रलाई बोक्नुले उनी संरक्षक वा सहाराको भूमिकामा रहेको बुझिन्छ । दुवैको अनुहारमा देखिएको सहज मुस्कानले सम्बन्धमा स्वार्थभन्दा भावनात्मक गहिराइ रहेको देखाउँछ ।

पोस्टरमा नीताले आकाशतर्फ देखाएको औँलाले पात्रको सपना वा कल्पनाशील स्वभावलाई प्रतिनिधित्व गरेको अनुमान गर्न सकिन्छ । फिल्मको शीर्षक ‘पार्वती’ लेखिएको शैलीले पनि पात्रको जीवनमा आउने संघर्ष, विद्रोह वा समाजले लगाएको कुनै ‘ट्याग’लाई तोड्ने संकेत गरेको देखिन्छ ।

दोस्रो पोस्टरको पृष्ठभूमिमा ‘माया’, ‘परिवार’, ‘स्नेह’ र ‘किरण’ जस्ता शब्दहरू लेखिएको देखिन्छ । यसले फिल्मको कथा पारिवारिक तथा भावनात्मक परिवेशमा केन्द्रित रहेको संकेत गर्छ ।

फिल्म २०८३ सालको रक्षाबन्धनको अवसर पारेर भदौ १२ गते प्रदर्शन हुने तयारीमा छ । पोस्टरमा दिदी–भाइजस्तो सम्बन्ध चित्रण गरिनु र प्रदर्शन मिति पनि रक्षाबन्धनमा तय गरिनुले फिल्म भावनात्मक सम्बन्ध र सामाजिक दायित्वमा केन्द्रित रहेको अनुमान गरिएको छ ।

कथा, पटकथा, निर्देशन र मुख्य भूमिका स्वयं नीताले सम्हालेकाले ‘पार्वती’ उनको ‘ड्रिम प्रोजेक्ट’का रूपमा हेरिएको छ । ट्राइडेन्ट कन्सेप्टले तयार पारेका पोस्टरले फिल्म नियमित फर्मुलाभन्दा फरक हुने संकेत गरेका छन् ।
फिल्ममा नीता र अशोकसँगै दीपाश्री निरौला, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायतको अभिनय रहेको छ ।

नीता ढुंगाना फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता हरिहर अधिकारी हुन् । सुदिप बराल डिओपी रहेको फिल्मका संवाद शिवम् अधिकारीले लेखेका हुन् ।
फिल्ममा सरोज अधिकारी क्रियटिभ निर्देशकका रूपमा रहेका छन् । कार्टुन क्रुका डान्सर तथा निर्देशक सरोजले पहिलोपटक फिल्ममा क्रियटिभ निर्देशकको भूमिका सम्हाल्न लागेका हुन् ।

फिल्मको प्रोडक्सनको जिम्मेवारी शंकर पाण्डेले सम्हालेका छन् । उनी कार्यकारी निर्माता पनि हुन् । फिल्मको सम्पादन साहिल खानले गर्नेछन् ।

युवराज काफ्ले, हर्क साउद, बाबुल गिरी र सिद्धार्थ सरकार पौडेलका गीत रहेको फिल्ममा प्रशान्त शिवाकोटी, बाबुल गिरी, सिद्धार्थ सरकार पौडेल र दीपक शर्माको संगीत रहनेछ ।

फिल्ममा रामजी लामिछानेको नृत्य निर्देशन, नवराज शर्माको सहायक निर्देशन तथा अलिस कार्कीको पार्श्व संगीत रहेको छ ।

फिल्मलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।

Leave a Reply