काठमाडौं । फिल्म ‘रोल नं १’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको प्रचारप्रसारमा व्यस्त निर्माण टिमले शुक्रबार ट्रेलर सार्वजनिक गरेको हो ।
सार्वजनिक ट्रेलरमा बालमनोविज्ञानलाई मुख्य विषय बनाइएको छ । छोराले राम्रोसँग पढेर गाउँमा इज्जत राखिदियोस् भन्ने बुवाको चाहना र अर्कोतर्फ छोराको आफ्नै रुचिबीचको द्वन्द्वलाई ट्रेलरले प्रस्तुत गरेको छ । परिवारको अपेक्षा पूरा गर्ने प्रयास गर्दा पनि रुचि नहुँदा असफल हुनुपरेको अवस्थामार्फत ट्रेलरले बालमनोविज्ञानलाई देखाएको छ ।
गरिब भएकै कारण विद्यार्थी छात्रवृत्तिबाट वञ्चित हुने अवस्था तथा ‘पहिलो हुने’ले मात्रै समाजमा सम्मान पाउने मानसिकतालाई पनि ट्रेलरमा उठाइएको छ । पुरानो सोचमा जकडिएको समाज, त्यसले गरिबलाई दिने पीडा र पारिवारिक तथा सामाजिक द्वन्द्व ट्रेलरमा देख्न सकिन्छ ।
घोकन्ते शिक्षाले समाजमा पारेको प्रभाव र त्यसकै पछि लाग्ने अभिभावकका कारण बालबालिकाको मनोविज्ञानमा पर्ने असरलाई फिल्मले बाबु–छोराको सम्बन्धमार्फत मिहिन ढंगले प्रस्तुत गरेको देखिन्छ । ट्रेलरमा फिल्मका मुख्य कलाकारहरूको अभिनयसमेत समेटिएको छ ।
विनोद पौडेलको निर्माण रहेको फिल्म ‘रोल नं १’ जेठ १५ गते प्रदर्शनमा आउने तयारीमा छ । विद्यार्थीको मनोविज्ञान र अहिलेको शैक्षिक प्रणालीले बालबालिकामा पार्ने नकारात्मक प्रभावलाई फिल्मले उठाएको निर्माणपक्षले जनाएको छ ।
जोन योञ्जनको निर्देशनमा बनेको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । बाल कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ देखिएका छन् ।
फिल्मका निर्माता विनोद पौडेल र जान्वी पौडेल हुन् भने सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं रहेका छन् । फिल्मको कथा तथा पटकथा महेश दवाडीले लेखेका हुन् ।
फिल्ममा शिवराम श्रेष्ठको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर, फिरोद खड्काको चिफ एडी, कला संग्रौलाको प्रोडक्सन डिजाइन तथा मनोज जोशीको प्रोडक्सन हेडको जिम्मेवारी रहेको छ । फिल्मका सम्पादक मदन घिमिरे हुन् ।
निर्माता पौडेलका अनुसार ‘रोल नं १’ नेपालसँगै विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ । फिल्मलाई रिच इन्टरटेन्मेन्ट र जेएम सिनेमाले वितरण गर्दैछन्।
News Filmy Newsportal / Nepal