काठमाडौं । २०८२ सालको हिट फिल्म ‘मन बिनाको धन’को दोस्रो श्रृंखला बन्ने भएको छ। अघिल्लो वर्ष घरेलु बक्स अफिसमा ४ करोड रुपैयाँ ग्रस कमाइ गरेको फिल्मको सिक्वेल ‘मन बिनाको धन २’ निर्माण हुन लागेको हो।
फिल्मका लागि निर्माण टिमले कलाकार अनुबन्धन प्रक्रिया सुरु गरिसकेको छ। टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा बन्ने फिल्मलाई टंक बुढाथोकीले नै निर्देशन गर्नेछन्।
फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेख्नेछन् भने संगीत पनि बुढाथोकीकै रहनेछ।
चर्चित संगीतकारसमेत रहेका बुढाथोकीले आफ्नै चर्चित गीतबाट फिल्मको नाम राखेका हुन्। फिल्मको दोस्रो श्रृंखलाको शीर्ष भूमिकामा अभिनेत्री पूजा शर्मा अनुबन्धित भएकी छन्। पूजा र बुढाथोकीबीच लिखित सम्झौता भइसकेको जनाइएको छ।
फिल्मको छायांकन आगामी भदौबाट सुरु हुने तयारी गरिएको छ।अन्य कलाकारबारे भने निर्माण टिमले हालसम्म खुलाएको छैन।फिल्मबारे निर्देशक बुढाथोकीले भने, “हामी अहिले प्रि–प्रोडक्सनको काममा व्यस्त छौं। सुरुवातमै पूजाजीलाई फिल्ममा अनुबन्धित गरेका छौं। अन्य कलाकारलाई पनि जोड्ने तयारी भइरहेको छ।”
अभिनेत्री पूजा शर्माले पनि फिल्ममा जोडिन पाउँदा खुशी लागेको बताइन्।उनले भनिन्, “फिल्मको कथावस्तु निकै पारिवारिक छ। आफ्नो भूमिका र टिम मन परेकै कारण मैले काम गर्न सहमति जनाएकी हुँ।” फिल्मकी निर्माता विष्णुमाया मैनाली रहनेछिन्।
News Filmy Newsportal / Nepal