काठमाडौं। गत वर्ष बक्स अफिसमा उच्च कमाइ गर्दै रेकर्ड बनाएको परान पछि निर्देशक दीपक प्रसाद आचार्य नयाँ फिल्म चिरञ्जीवी भव: लिएर आएका छन् । सोमबार ललितपुरस्थित बंगलामुखी मन्दिर मा स्क्रिप्ट र क्यामरा पूजा गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो ।
मुहूर्त समारोहमा फिल्मका मुख्य कलाकार हरिवंश आचार्य ले पहिलो सट दिएका थिए । हालै मात्र निर्माण टिमसँग जोडिएका उनी फिल्ममा प्रमुख भूमिकामा रहनेछन् । फिल्ममा आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी को पनि मुख्य भूमिका रहनेछ । कन्टेन्ट क्रिएटरका रूपमा परिचित प्रशंसाको यो डेब्यू फिल्म हो ।
जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सन को संयुक्त ब्यानरमा निर्माण हुने फिल्ममा प्रियंका कार्की, सुवर्ण थापा, कमलमणि नेपाल, सरोज अर्याल, हरिष निरौला, सुमन कार्की र सुस्मिता कुँवर लगायत कलाकारको अभिनय रहनेछ ।
फिल्मले हजुरबुबा र नातिबीचको भावनात्मक सम्बन्धको कथा प्रस्तुत गर्ने निर्माण टिमले जनाएको छ । उमेशकुमार बराल निर्माता रहेको फिल्ममा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माताका रूपमा छन् ।
फिल्मको कथा कुमार कट्टेल ले लेखेका हुन् भने पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपाने ले तयार पारेका छन् । जेठ १५ गतेबाट छायांकन सुरु हुने फिल्मलाई आगामी माघे संक्रान्तिमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।
News Filmy Newsportal / Nepal