‘लालीबजार’ हेरेर दर्शक भावुक, हलबाट रुँदै निस्किए स–परिवार

काठमाडौं। वैशाख २५ गतेदेखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’लाई दर्शकले साथ दिएका छन्। फिल्म प्रदर्शनमा आएदेखि नै अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, नवअभिनेता विशाल देवकोटा, नवअभिनेत्री प्रशंसा सुवेदी, निर्देशक यम थापा, कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराई, निर्माता म्याक्स दीपेश खत्री लगायतको टोली काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट गरिरहेका छन्।

स–परिवार हल पुगेका दर्शक फिल्म सकिएपछि भावुक हुँदै बाहिरिएका छन्। फिल्मले आमाको महत्व र छोरीप्रतिको दायित्वलाई झनै गहिरो बनाएको प्रतिक्रिया दर्शकले दिएका छन्। एकल आमाले संघर्ष गरेर छोरीलाई पढाउने कथाले आफूहरूलाई रुवाएको धेरै दर्शकको भनाइ छ।

दर्शकहरू रुँदै हलबाट निस्किँदा कलाकार टोलीले उनीहरूलाई धन्यवाद दिइरहेको देखिन्छ। पहिलो दिन शुक्रबार, दोस्रो दिन शनिबारजस्तै आइतबार पनि कलाकार टोली काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाटमा व्यस्त रहेको छ।

अभिनेत्री स्वस्तिमा खड्काले दर्शकबाट प्राप्त प्रतिक्रियाले आफू उत्साहित बनेको बताइन्।

उनले भनिन्, “हामीले फिल्ममार्फत देखाएको विषयलाई दर्शकले स्पष्ट रूपमा बुझ्नुभएको छ। महिला मात्र होइन, पुरुष दर्शकको आँखा पनि रसाएको छ। फिल्म हेर्नेले यो कुनै समुदाय वा वर्ग विशेषको कथा नभई सम्पूर्ण आमा र छोरीको कथा भएको बताउनुभएको छ। स–परिवार दर्शकलाई हलमा देख्दा निकै उत्साहित भएकी छु।”

स्वस्तिमासँगै हल पुगेका डेब्यु अभिनेता विशाल देवकोटालाई दर्शकले ‘राम्रो अभिनय’ गरेको भन्दै प्रशंसा गरेका छन्। फिल्ममा उनले निर्वाह गरेको ‘नारायण’ पात्रको नामले नै दर्शकले उनलाई सम्बोधन गरेका थिए।

डेब्यु फिल्ममै दर्शकको मायाले आफू उत्साहित बनेको विशालले बताए।

“पहिलो काममै पाइरहेको प्रतिक्रियालाई शब्दमा व्यक्त गर्न सकिरहेको छैन। मैले आफ्नो पात्रलाई सकेसम्म जीवन्त बनाउने प्रयास गरेको थिएँ। अहिले पाएको प्रतिक्रियाले मेहनत सफल भएको महसुस भइरहेको छ। हलमा पुगेर दर्शकसँग भेट्दा त्यो अनुभव शब्दमा भन्न सकिँदैन,” उनले भने।

डेब्यु अभिनेत्री प्रशंसा सुवेदीले पनि सबै वर्गका दर्शकले फिल्मलाई माया दिइरहेको बताइन्। जेन–जी अभियन्ता तथा कन्टेन्ट क्रिएटरका रूपमा परिचित प्रशंसाले फिल्ममा स्वस्तिमाको छोरीको भूमिका निभाएकी छन्।

उनले भनिन्, “मेरो उमेर समूहका दर्शक पनि हलमा उत्तिकै देखिरहेकी छु। परिवारसहित दर्शक फिल्म हेर्न आइरहनुभएको छ। पहिलो फिल्ममै दर्शक र फिल्मकर्मीबाट पाएको मायाले मलाई अझ हौसला दिएको छ।”

निर्देशक तथा लेखक यम थापाले फिल्मबारे गरिएको अड्कलबाजी फिल्म हेरेपछि स्वतः स्पष्ट हुने बताए। उनले ‘लालीबजार’ स–परिवार बसेर हेर्न मिल्ने फिल्म भएको प्रतिक्रिया दिए।

फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश बादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी र विरवल चौधरी लगायत कलाकारहरूको अभिनय रहेको छ।

यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गरेका हुन्। विशाल थिएटरका अभिनेता तथा निर्देशक हुन् भने प्रशंसा जेन–जी पुस्ताकी अभियन्ताका रूपमा परिचित छिन्।

यम थापाको कथा तथा निर्देशन रहेको फिल्म ‘लालीबजार’को पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन्। फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता रहेका छन्।

फिल्ममा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलरिस्ट रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउन्ड म्युजिक तथा मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, पब्लिसिटी डिजाइनर रोयल भीमसेन (ट्राइडेन्ट), मिडिया संयोजक सिपी जैशी, कस्ट्युम डिजाइनर तथा स्टाइलिस्ट जानकी कडायत, मेकअप आर्टिस्ट काव्या थापा तथा संगीतकार प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको योगदान रहेको छ।

Leave a Reply