काठमाडौं । शनिवार सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश–२०८३’ जारी गरेपछि सेन्सर बोर्डका सदस्यहरू पदमुक्त हुँदा फिल्मको जाँचपास कसरी हुने भन्ने विषयमा ठुलो अन्योल छाएको थियो। यद्यपि, यसै अन्योल र रिक्तताका बीच पनि नेपाली फिल्म ‘मालती मंगले’को सेन्सर कार्य भने सफलतापूर्वक सम्पन्न भएको छ।
२ घण्टा ३८ मिनेट लामो यस फिल्मले सबैले हेर्न मिल्ने ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेको छ। प्रमाणपत्र बुझ्न निर्माता तथा गायक रामकृष्ण ढकाल आफैँ पुगेका थिए। यो फिल्म यही वैशाख २५ गते शुक्रबार रिलिज हुँदैछ।
सेन्सर बोर्डका सदस्यहरूको पदावधि मुक्त भएको अवस्थामा फिल्म जाँचलाई अत्यावश्यक सेवा मानेर चलचित्र विकास बोर्डले पठाएको प्रतिनिधिको उपस्थितिमा सेन्सर गरिएको हो। यसका लागि चलचित्र विकास बोर्डका तर्फबाट दीपा बस्नेतलाई प्रतिनिधिको रूपमा पठाइएको थियो। जाँचपास समितिका अध्यक्षसहित विभिन्न मन्त्रालयका प्रतिनिधिहरू भने पदेन सदस्य रहने व्यवस्था भएकाले उनीहरूको उपस्थिति कायमै थियो र सोहीअनुसार सेन्सर कार्य अघि बढाइएको हो।
रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्म ‘मालती मंगले’को कथा स्वयं निर्देशक प्रकु पाण्डेयले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्।
यस फिल्ममा विजय, वर्षा र मेक्समका साथमा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ। फिल्मको ट्रेलर तथा टिजरका साथै ‘सुनैको सपनी’, ‘ढुङ्गा माथि लेऊ’ र आकर्षक डान्सिङ नम्बर ‘झ्याम पारम’ जस्ता गीतहरू यसअघि नै सार्वजनिक भइसकेका छन्, जसले दर्शकको राम्रो ध्यान तानेको छ।
यस फिल्मका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह–निर्माताका रूपमा रहेका छन्। प्राविधिक रूपमा पनि निकै उत्कृष्ट मानिएको यस फिल्ममा महेश पौडेलको छायाङ्कन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ।
आरआर फिल्म्सले वितरण गर्ने यो फिल्मले यही शुक्रबारबाट दर्शकलाई पूर्ण मनोरञ्जन दिने विश्वास निर्माण पक्षले लिएको छ।
News Filmy Newsportal / Nepal