दयाहाङ–सौगातको नोकझोक ‘मितज्यू’मा, जेठ ८ बाट प्रदर्शनमा

काठमाडौं । फिल्म ‘मितज्यू’ जेठ ८ गतेबाट प्रदर्शन हुँदा नेपाली सिनेमाका दुई लोकप्रिय अभिनेता दयाहाङ राई र सौगात मल्ल सँगै देखिनेछन् । यी दुई अभिनेता आफैँमा सिनेमामा मात्रै होइन, सिनेमा बाहिर पनि दर्शकमा रुचाइएका कलाकार हुन् । त्यसैले यी दुई अभिनेता नेपाली सिनेमाका सदाबहार अभिनेता हुन् ।

सौगात र दयाहाङ सर्वाधिक धेरै फिल्म खेल्ने कलाकारमध्ये पर्छन् । दर्शकको मायाकै कारण यी कलाकार मेकरको रोजाइमा पर्छन्, जसका कारण धेरै फिल्ममा मुख्य भूमिकामा देखिरहन्छन् ।

यी दुई कलाकार फेरि एकपटक सँगै देखिँदैछन् । फिल्म ‘मितज्यू’मा सौगात र दयाहाङले सँगै काम गरेका छन् । प्रायः फिल्ममा हिरो र हिरोइनले सँगै काम गर्दा अनस्क्रिन जोडी भनिन्छ, तर सौगात र दयाहाङको जोडीलाई पनि फिल्ममा सफल जोडी मान्न सकिन्छ । किनकि यी दुईले सँगै काम गरेका केही फिल्म बक्सअफिसमा पनि सफल छन् ।
‘लुट’बाट सुरु भएको यो जोडीले हालसम्म थुप्रै फिल्ममा सँगै काम गरेका छन् । त्यसमध्ये ‘कबड्डी’ पनि सफल जोडी हो । ‘लुट’ र ‘कबड्डी’ जस्तै अब ‘मितज्यू’ सफल हुनेमा यसको निर्माण टिम ढुक्क छ ।

फिल्म ‘मितज्यू’मा सौगात र दयाहाङबीच नोकझोक देखिएको छ । ‘मितज्यू’को पोस्टर र टिजरमा यी दुई कलाकार आमनेसामने हुन्छन् । सँगै पनि रहने तर मिल्न पनि नसक्ने चरित्रमा उनीहरू यो फिल्ममा देखिएका छन् ।
यी दुई कलाकारबीच ‘लुट’ र ‘कबड्डी’मा पनि द्वन्द्व देखिएको थियो । दर्शकले सौगात र दयाहाङलाई आपसी नोकझोकमा रुचाएको इतिहास छ । ‘मितज्यू’मा पनि उनीहरू आपसी द्वन्द्वमा फसेको जस्तो टिजरमा देखिएको छ । उनीहरूको यो भूमिकालाई दर्शकले रुचाउनेमा निर्माण टिम ढुक्क देखिएको छ ।

“हाम्रो फिल्ममा जसरी द्वन्द्व सिर्जना गरिएको छ, यसमा दयाहाङ र सौगातको जुन खालको चरित्र छ, यसमा दर्शकले पक्कै पनि इन्टरटेन गर्नुहुनेछ भन्ने हाम्रो विश्वास छ,” निर्माता जनक घर्ती मगर भन्छन्, “सौगात र दयाहाङले सँगै काम गरेका फिल्ममध्ये यो दर्शकले सम्झना गर्नलायक फिल्म बन्नेछ ।”

अनिल बुढा मगरको निर्देशन रहेको ‘मितज्यू’लाई जनक घर्ती मगरले निर्माण गरेका छन् । यो फिल्ममा सौगात र दयाहाङसँगै तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने लगायत कलाकारको अभिनय रहेको छ । तेरियाको यो डेब्यु फिल्म हो ।

लोकेश बज्राचार्यको सम्पादन, शिशिर बिशंखेको छायांकन रहेको फिल्ममा श्रीकृष्ण बम मल्लको संगीत छ । आरआर फिल्म्सले वितरण गर्ने यस फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ ।

Leave a Reply